स्वदेशमै रोजगारीका सम्भावना खोज्न आग्रह

बुटवल / बुद्ध जन्मस्थल लुम्बिनीमा यतिबेला मुलुकको आर्थिक समृद्धिमा अबका युवाको भूमिका, युवाको नेतृत्व विकास, शान्ति र विकासलगायत विषयमा युवाहरु छलफलका लागि जुटेका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा ग्रीन युथ क्लब लुम्बिनीले आयोजना गरेको दुइदिने युवा सम्मेलनकोे उद्घाटन सत्रमा सहभागी प्रदेश ५ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीलगायतका अतिथिहरु । 

बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र विकासका लागि युवा नेतृत्व’ भन्ने नारासहित शुक्रबारदेखि पहिलो पटक शुरु भएको राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले वैदेशिक रोजगारीले मनमा शान्ति नहुने भएका कारण स्वदेशमै रोजगारीका सम्भावना खोज्न युवालाई आग्रह गर्नुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयलेसमाजको विकास र परिवर्तनमा बुद्ध दर्शनको महत्व धेरै रहेको बताउनुभयो । प्रदेश सदस्य फकरुद्दिन खानले देशको समृद्धिका लागि युवाले योगदान दिने बेला भएको औँल्याउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लुम्बिनीको प्रचारप्रसार र अन्तर्राष्ट्रियस्तरमा शान्तिको सन्देश दिन सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो । लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषको सहयोगमा ग्रिन युथ क्लब लुम्बिनीले आयोजना गरेको दुईदिने सम्मेलनमा विभिन्न जिल्लाका २०० युवा सहभागी छन् ।

सम्मेलनमा नेपाली चिन्तन, युवाको नेतृत्व विकास, वर्तमान अवस्थामा युवाको भूमिका, वातावरणको संरक्षणमा युवा सहभागिता, बुद्ध शिक्षा र लुम्बिनीको महत्वलगायत विषयमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय, क्यानडा विश्वविद्यालयका प्रा मुक्ति सुवेदी, सहकारी अभियानकर्मी परितोष पौडेललगायतले युवालाइ उत्प्रेरणामूलक प्रशिक्षण दिने कार्यक्रम रहेको रहेको ग्रीन युथ अफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले जानकारी दिनुभयो ।  रासस


प्रतिक्रिया दिनुहोस्