उत्साही आयोजक रसियासँग अपराजित क्रोएसिया भिड्दै

रसिया, २३ असार । आयोजक रसिया जारी विश्वकप फुटबलमा सबैभन्दा धेरै उत्साही टोली हाे । बलिया भनिएका टोलीलाई हराएर क्वार्टरफाइनलमा आइपुगेको छ । विश्वकप खेल्नुअघि फिफाको विश्व वरियतामा सबैभन्दा पछाडि रहेका घरेलु टोलीको विश्वकप तयारी निकै कमजोर थियो । पछिल्ला ७ खेलमा जितविहीन थियो । विश्वकपमा सहभागी हुँदा सबैभन्दा तल्लो वरियताको टोलीमा दरिएको रुसले दोस्रो चरणमा प्रवेश गर्ला भन्ने अनुमान पनि लगाएका थिएनन् ।

आयोजकको रुपमा स्वत विश्वकपमा छनौट भएका रुस आज सेमिफाइनल प्रवेशको लागि खेल्दैछ । रुसी समर्थकका लागि रुसी टोलीको लागि यो निकै ठुलो उपलब्धी भइसकेको छ । रुसले सोभियत संघ विघटनपछि पहिलो पल्ट क्वार्टरफाइनल खेल्न लागेका हुन् । सन् १९५८ र ७० का बीचमा सोभियत संघको नाममा लगातार ४ क्वार्टरफाइनल खेले पनि रुसले पहिलो क्वार्टरफाइनल खेल्दैछ । सोभियत संघले १९६६ मा विश्वकपको सेमिफाइनल खेलिसकेको थियो ।

विश्वकपको उद्घाटन खेलमै आफूभन्दा माथिल्लो वरियताको साउदी अरेबियालाई ५–० ले हराउँदै जित यात्रा सुरुवात गरेको रसियाले इजिप्टविरुद्धलाई ३–१ ले हरायो । भने समुह चरणको अन्तिम खेलमा उरूग्वेसँग ३–० ले पराजित भयो । तर क्वार्टरफाइनल प्रवेश लागि भएको खेल विश्वकपमै बलिया मानिएका स्पेनलाई ट्राइब्रेकरमा हरायो ।

पछिल्ला ५ विश्वकपमा आयोजक राष्ट्र सेमिफाइनलमा पुगेको छतथ्याङ्कले रुसलाई केही फाइदामा देखाउँछ । इटाली १९९० मा, फ्रान्स ९८ मा, दक्षिण कोरिया २००२ मा, जर्मनी २००६ र ब्राजिलले २०१४ को सेमिफाइनल खेलेकाे इतिहास छ ।

उत्साहित रुसले अब सेमिफाइनल प्रवेशका लागि शनिबार क्रोएसियाविरुद्ध उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रिन्दैछन् । यता क्रोएसिए समूह चरणमा समुहका सबै टोली अर्जेन्टिना, नाइजेरियालाई र आइसल्याण्डलाई हराउँदै समुह बिजेताको रुपमा प्रवेश गरेको हो ।

क्वाटरफाइनल प्रवेशका लागि डेनमार्कलाई ट्राइबे्रकरमा हराएको थियो । यो विश्वकपमा क्रोएसियाले अपराजित टोली हो । खेलेको सबै चार खेलमा सतप्रतिशत जित निकालेको छ । क्रोएसिया स्वतन्त्र राष्ट्रको रुपमा सन् १९९८मा पहिलो पटक विश्वकपमा सहभागी हुँदा तेस्रो स्थान हात पारेको थियो । त्यति बेला नेदरल्यान्ड्सलाई तेस्रो स्थानको खेलमा २–१ ले पराजित गरेको थियो ।

रुस र क्रोएसिया विश्वकपमा अहिलेसम्म भिडेका छैनन् । हालसम्म अन्य खेलमा तीनपल्ट खेलेकामा क्रोएसिया अपराजित छ । पछिल्लोपल्ट सन् २०१५ को नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा रुस ३–१ ले पराजित भएको थियो । पहिलो हाफमा रुसले १–० ले अग्रता लिए पनि अन्तिम नतिजा क्रोएशियाले आफ्नो पक्षमा पारेको थियो ।

केही तथ्य

रसिया

–विश्वकपको नकआउट चरणका पछिल्ला ५ खेलमा रुसले ९० मिनेटभित्रै जित निकाल्न सकेको छैन । सन् १९६६ मा उसले क्वार्टरफाइनलमा हंगेरीलाई पराजित गरेको थियो । त्यो नै रुसले सेमिफाइनल यात्रा तय गरेको पहिलो विश्वकप थियो ।

–युरोपेली टिमसँग पनि रुसको विश्वकप नतिजा राम्रो छैन । युरोपेली टिमसँग भएको ७ भिडन्तमा रुसले २ बराबरी गर्दा ५ खेल विपक्षीलाई सुम्पेको थियो ।

–रुसले जारी विश्वकपमा २ आत्मघाती गोल गरिसकेको छ । यसअघि १९६६ मा बुल्गेरियाले एउटै विश्वकपमा २ आत्मघाती गोल गरेको थियो ।

– यता स्पेनले अधिकांश समय बल नियन्त्रणमा राखे पनि रूसी रक्षापंक्ति भने तोड्न सकेको थिएन । रूसले आज यस्तै रणनीति अपनाउने हो भने क्रोएसियालाई धौ–धौ पर्छ । रुस पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको हो

–रूसका एलेक्जेन्डर गोलोभिन, फ्योडोर स्मोलोभ, युरी गाजिन्स्की, इल्या कुटेपोभ र रोमन जोब्निनले पहेँलो कार्ड पाएको खण्डमा अर्को खेल गुमाउने छन् । यद्यपी स्पेनविरुद्ध प्रतिबन्ध खेपेका इगोर स्मोल्निकोभ मैदानमा फर्कने छन् ।

क्रोएशिया
–क्रोएशियाले पछिल्लोपटक सन् १९९८ मा फ्रान्समा भएको विश्वकपको क्वार्टरफाइनलमा जर्मनीलाई ३–० ले पराजित गरेको थियो । यो नै क्रोएशियाले महत्वपूर्ण प्रतियोगितामा पेनाल्टी शुटआउटमा नगइ हात पारेको पछिल्लो सफलता हो ।

–क्रोएशियाले विश्वकपका पछिल्ला ८ खेलमा गोल गरेको छ । समग्रमा क्रोएशियाले १६ गोल गरेको छ । विश्वकपका पछिल्ला १२ मध्ये १० गोल क्रोएशियाले दोस्रो हाफमा गरेको छ ।

–विश्वकपका आयोजक राष्ट्रसँग क्रोएशियाको आँकडा त्यति सकारात्मक छैन । उसले २ पटक आयोजक राष्ट्रलाई नतिजा सुम्पिसकेको छ । सन् १९९८ मा आयोजक फ्रान्ससँगको सेमिफाइनल भिडन्त क्रोएशियाले २–१ ले सुम्पेको थियो । त्यःतै अघिल्लो संस्करणमा पनि उसले समूहगत चरणमा ब्राजिललाई ३–१ को नतिजा सुम्पेको थियो ।

–क्रोएशियाका इभान राकिटिच, मार्सेलो ब्रोजोविच, मारियो मान्ड्जुकिच, मार्को प्याक्चा, टिन जेड्भाज, आन्टे रेबिच र सिमे भार्साल्को आज पहेंलो कार्ड पाए उनीहरुले आगमी खेल गुमाउने छन् ।

–डेनमार्क्विरुद्धको खेलमा चोट बोकेका इवान ट्रिनिक आजको खेलमा उपलब्ध हुने र नहुने आशंका छ । यसअघि काँधमा चोट बोकका मेटो कोवासिक मैदान फर्किनेछन् । डेनमार्क्विरुद्धको खेलमा तीन पेनाल्टी रोकेका क्रोएसियाका गोलकिपर ड्यानियल सुबासिचलाई पार गर्न शनिबार रूसले निकै संघर्ष गर्नुपर्ने देखिन्छ । (एजेन्सी)


प्रतिक्रिया दिनुहोस्