दोभानस्थित तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा [भिडियो सहित]

ताप्लेजुङ / ताप्लेजुङको दोभानस्थित तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ताप्लेजुङ नगरपालिका १ को देउलिङ्गे र खाम्लुङको दोभान बजार जोड्ने उक्त मोटरेवल पुल (ट्रस ब्रिज) निर्माण कार्यले अहिले तीव्रता पाएको हो ।

आजभन्दा साढे छ वर्षअघि सुरु भएको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेपछि जिल्लाको क्षेत्र नं. २ का स्थानीयबासी हर्षित भएका छन् । पहिलो संविधानसभाबाट निर्वाचित तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले २०६६ साल मङ्सिर ८ गते शिलान्यास गरेको उक्त पुल निर्माण कार्य सुरु भएको साढे छ  वर्ष बितिसकेको छ । अहिले भने पुल निर्माण कार्यलाई तीब्रता दिएसँगै काम अन्तिम चरणमा पुगेकाले तमोर नदी पश्चिम क्षेत्रका डेढ दर्जन बढी गाविसका स्थानीयबासी हर्षित भएका हुन् ।

हाल सम्ममा सम्पन्न हुने पुल ट्रस जडानका लागि चाहिने मेशिन क्रेन (हाइड्रोलिक) आइपुग्नलाई करिव एक महिना ढिलो भएका कारण निर्माण कार्यमा ढिलो भएको निर्माण कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निर्माणस्थलमा मेशिन ढिलै आइपुगे पनि त्यस यता अर्थात महिना दिन अघिदेखि पुल निर्माण कार्यलाई तीव्रता दिइएको छ । निर्माण कार्यमा संलग्न मजदुरका अनुसार हालसम्म झण्डै ९० प्रतिशत ट्रसका सामान जडान गरिसकिएको छ । हालकै गतिमा कामले निरन्तरता पाएमा चाँडै पुल सम्पन्न हुने संलग्न मजदुरहरु बताउँछन् ।

सुरुको सम्झौताअनुसार कुल १० करोड ३५ लाख ९८ हजार दुई सय ४६ रुपियाँ बजेटको लागतमा बन्न लागेको ७५ मिटर लम्बाई रहेको पुल निर्माण भइसकेपछि ताप्लेजुङ क्षेत्र नं. २ अन्तर्गतका खाम्लुङ, सान्थाक्रा, लिङ्तेप, थिङ्लाबु, थुकिमा, नाल्बु लगायत दर्जन बढी गाविसका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् । सरकारी अनुदान तथा स्थानीय बजेटबाट यसअघि नै गाउँ गाउँमा सडक निर्माण गरिए पनि यही तमोर नदीमा पुल नबनेका कारण सडक सञ्चालनमा आउन सकेका छैनन् । पुल सम्पन्न हुनासाथ यातायात सञ्चालनमा आउने भएकाले यसक्षेत्रका बासिन्दालाई सुविधा पुग्ने छ ।

यस्तै सोही पुलका कारण निर्माण कार्य रोकिएको दोभान बजार नजिकको ढुङ्गेसाँघु जोड्ने ३८ मिटर लम्बाइको मैवाखोलामा मोटरेबल पुलको निर्माण केहि महिना अगाडी नै सम्पन्न भएको छ । सो मैवाखोलाको पुल निर्माण भइसकेमा क्षेत्र नं. २ अन्तर्गतका बाँकी गाविसहरु ढुङ्गेसाँघु, चाँगे, फुलबारी, हाङ्पाङ, साँघु, फाकुम्बा लगायतका गाविसका बासिन्दा लाभान्वित हुने छन् । त्यस्तै सुनसरी धरानदेखि धनकुटा, तेह्रथुमको बसन्तपुर, संखुवासभा गुफा पोखरी हुँदै ताप्लेजुङ सदरमुकाम फुङ्लिङसम्म सडक मार्ग जोडिने भएकाले यात्रु तथा अन्य सेवाग्राहीलाई समेत राहत पुग्ने छ ।

हाल ताप्लेजुङदेखि तराईको जिल्ला झापा पुग्नलाई मेची राजमार्ग हुँदै दुई सय ४१ किलोमिटर दूरी पार गर्नुपर्छ भने यी पुलको निर्माण कार्य सम्पन्न भएपछि कोशी सडक मार्ग सञ्चालनमा आएमा यहाँबाट तराईको जिल्ला सुनसरी पुग्नलाई मेची राजमार्ग भन्दा झण्डै ६३ किलोमिटर छोटो दूरी पर्ने बताइएको छ । समयमै पुल निर्माणको कार्य सम्पन्न नभएकाले पुल तथा सडकका उपभोक्ताहरु भने सबैखाले सेवा सुविधा उपभोग गर्नबाट हालसम्म बञ्चित हुँदै आएका छन् । क्षेत्र नं. २ अन्तर्गतका बाँकी गाविसहरु ढुङ्गेसाँघु, चाँगे, फुलबारी, हाङ्पाङ, साँघु, फाकुम्बा लगायतका गाविसका बासिन्दा लाभान्वित हुने छन् । त्यस्तै सुनसरी धरानदेखि धनकुटा, तेह्रथुमको बसन्तपुर, संखुवासभा गुफा पोखरी हुँदै ताप्लेजुङ सदरमुकाम फुङ्लिङसम्म सडक मार्ग जोडिने भएकाले यात्रु तथा अन्य सेवाग्राहीलाई समेत राहत पुग्ने छ ।

-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

 


प्रतिक्रिया दिनुहोस्