सिदिङ्बा गाउँपालिका पूर्ण खोपयुक्त घोषित

ताप्लेजुङ, २५ असार / ताप्लेजुङको पूर्वी सिदिङ्बा गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिकाको रुपमा घोषित गरिएको छ ।

सरकारको मापदण्डअनुसार सबै बालबालिकाहरु खोपको पहुँचमा पुगेसँगै जिल्लाको दोस्रो पूर्ण खोपयुक्त गाउँपालिकाको रुपमा सिदिङ्बालाई घोषणा गरिएको हो । उक्त गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङमा आयोजित घोषणा कार्यक्रमका बीच सिदिङ्बालाई ओलाङ्चुङगोला सीमा प्रशासन कार्यालयका प्रमुख डिल्लीरमण पौडेलले पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गर्नुभएको हो । कुल सात वटा वडा रहेको उक्त गाउँपालिकाका सबै बालबालिकाहरु खोपको पहुँचमा पुगेकाले पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो ।

खोपयुक्त गाउँपालिका घोषणा गर्नुहुँदै सीमा प्रशासन प्रमुख पौडेलले बालबच्चाको स्वास्थ्यका लागि गर्भावस्था देखि नै ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले खोपयुक्त क्षेत्र घोषणा गर्नु ठूलो कुरा नभई यसलाई कार्यान्वयन गर्नु महत्वपूर्ण हुने बताउनुभयो । यस्तै जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रतिनिधि दिनेश रायले खोपले बाल मृत्युदरलाई न्यूनिकरण गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । रायले दुई वर्ष मुनिका बालबालिकाहरुलाई हाल विभिन्न ११ वटा खोप दिएर स्वास्थ्य रहनमा मद्दत पु¥याउँदै आएको जानकारी दिनुभयो ।

यता पूर्ण खोपयुक्त घोषणा गरिएसँगै यसलाई कार्यान्वयन गर्नका लागि रचनात्मक भूमिका खेल्ने सिदिङ्बा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले बताउनुभयो । कडरियाले सिदिङ्बाभित्रका सबै वडाहरुमा खोपयुक्त कार्यक्रमलाई कार्यान्वयनका लागि स्वास्थ्य इकाइ शाखालाई सक्रिय बताउने बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष जीबनकुमार ताम्लिङले प्रभावकारी कार्यान्वयनका लागि प्रत्यक्ष निगरानी तथा निरीक्षणलाई निरन्तरता दिने बताउनुभयो ।
एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङमा यसअघि मेरिङ्देन गाउँपालिकालाई पहिलो पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको थियो । अन्य गाउँपालिकाहरु पनि पूर्ण खोपयुक्त क्षेत्र घोषणाको अन्तिम चरणमा रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

-प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्