तेस्रो दिनको कडा मेहेनत पश्चात थाईल्यान्डको गुफामा फसेका बाँकी सबैको सकुशल उद्धार (भिडियो सहित)

AFP

उत्तरी थाईल्यान्डस्थित बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेको समूहका बाँकी पाँच सदस्यलाई पनि उद्धार अभियानको तेस्रो दिन सकुशल बाहिर ल्याइएको छ। थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका सबै जनाको उद्धार गरिएको पुष्टि गरेको छ। आइतवार र सोमवार प्रत्येक दिन चार(चार जना गरेर गुफाको प्रवेशद्वारबाट चार किलोमिटिर भित्र फसेको टोलीका आठ बालकको सकुशल उद्धार गरिएको थियो।
उद्धार गरिएका व्यक्तिहरूलाई बोकेका एम्बुलेन्सहरू चियाङ राईस्थित अस्पताल पुग्दा त्यहाँ भेला भएका मानिसहरूले हर्षोल्लास गरेका थिए।
                                                                                               AFP 

एघारदेखि १६ वर्ष उमेरका १२ बालक र तिनका प्रशिक्षक गुफामा बाढी छिरेपछि नौ दिन सम्पर्कविहीन भएका थिए।
नौ दिनको खोजीपछि गत हप्ता उनीहरूलाई गोताखोहरूले जलमग्न अँध्यारो गुफाको एउटा ढिस्कोमा जीवितै फेला पारेका थिए।

कसरी गरियो अन्तिम चरणको उद्धार ?

मनसुन सुरु भइसकेको र थप वर्षा हुँदा गुफा अझ जलमग्न हुने र सो समूह जोखिममा पर्ने विचार गरेर बालकहरूलाई आइतवारदेखि बाहिर निकाल्न थालिएको थियो। तेस्रो दिनको अभियान स्थानीय समयानुसार बिहान नौ बजे सुरु भयो। आवश्यक उपकरण र अक्सिजनका ट्याङ्की लिएर १९ गोताखोरहरू गुफामा प्रवेश गरेका थिए। बाहिर वर्षा भइरहेको भए पनि गुफाभित्र पानीको सतह आइतवारको जति नै भएको उद्धारकर्मीहरूलाई उद्धृत गर्दै एक अधिकारीले बताए। अपराह्ण गुफाबाहिर हेलिकप्टर र एम्बुलेन्सहरू देखिएको थियो। तर त्यहाँ सञ्चारमाध्यमलाई भने जान दिइएको थिएन।थाई र विदेशीसमेत गरेर ९० भन्दा बढी गोताखोरहरू यो जटिल उद्धार अभियानमा सहभागी भएका थिए।


ती अनुभवी गोताखोरहरूले बालकहरूलाई गुफाका जलमग्न एवम् अँध्यारा भागहरूमा मार्गदर्शन गरेर बाहिर ल्याएका थिए। त्यसरी आउँदा बालकहरूले हिँड्नु, पौडिनु, उकालो उक्लिनु र गोता लगाउनु परेको थियो। यो कठिन उद्धार अभियानमा संलग्न एक गोताखोरको केही दिनअघि गुफाबाट फर्किने क्रममा मृत्यु भएको थियो। हजारौँ व्यक्तिहरूले समग्र उद्धार अभियानमा स्वयम्सेवा गरेका थिए।

बालकहरूको अवस्था कस्तो छ ?

यसअघि उद्धार गरिएका आठ बालकहरू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको बताइएको छ।

उद्धारपछि अस्पतालमा भर्ना गरिएका बालकहरूको एक्स(रे एवम् रक्तपरीक्षण गरिएको छ। उनीहरूलाई चिकित्सकको निगरानीमा अस्पतालमा कम्तीमा पनि एक हप्ता राखिने छ।अस्पताल लगिँदा केही बालकहरू न्यून तापक्रमका कारण समस्याग्रस्त थिए। तिनमध्ये एक जनाको मुटुको चाल पनि कम थियो। तर अहिले उनीहरू सबैको स्थितिमा सुधार आइसकेको छ।
आठै जनाको स्वास्थ्य राम्रो छ। ज्वरो पनि छैन।।।।सबै मानसिक रूपमा पनि ठिक छन्,ू स्वास्थ्य मन्त्रालयका सचिव जेसाडा चोकेडाम्रोङ्सुकले एउटा पत्रकार सम्मेलनमा बताए। स्वास्थ्य अधिकारीहरूका अनुसार बालकहरूलाई अहिले सजिलै पच्ने खानेकुरा दिइएको छ।

अभिभावकले हेरे, प्रधानमन्त्रीले भेटे

केही बालकहरूले आफ्ना अभिभावकहरूलाई परबाट हेर्न पाएका छन्। तर उनीहरूलाई सोझै भेट गर्न भने दिइएको छैन।
केही दिनमै थप परीक्षणका परिणामहरू प्राप्त हुनेछन् र बालकहरूलाई सङ्क्रमण नभएको प्रमाणित भए उनीहरूलाई परिवारजनसँग भेट्न दिइनेछ।
तर थाइल्यान्डका प्रधानमन्त्री प्रायुत जान(ओचाले भने बालकहरूलाई भेटेका छन्।
केही दिनमै प्राप्त हुने थप परीक्षणका परिणामा सङ्क्रमण नभएको प्रमाणित भएमा उनीहरूलाई परिवारजनसँग भेट्न दिइनेछ। बिबिसी

                 भिडियो

 


प्रतिक्रिया दिनुहोस्