पाकिस्तानमा हत्या गरिएकाको अन्त्येष्टिमा हजारौँ सहभागी

पेशावर, पाकिस्तान /  निर्वाचन प्रचारप्रसारका क्रममा भएको आत्मघाती हमलामा परी मृत्यु भएकाको अन्त्येष्टिमा बुधबार हजारौँ सहभागी भएका छन् ।


तालिबान लडाकूहरूले गराएको भनिएको विस्फोटनमा परी मृत्यु भएका २० जनाको अन्त्येष्टिका लागि हजारौँ सहभागी भएको अधिकारीहरूले बताएका छन् ।  अन्त्येष्टिमा झण्डै ३० हजार जना सहभागी भएको एक जना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् । यही जुलाईको २५ तारिखका दिन हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनलाई प्रभावित पार्नेगरी हिंसात्मक गतिविधिहरू भएको समाचारमा जनाइएको छ ।

पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा मंगलबार अबेर पछिल्लो ठूलो आत्मघाती विस्फोटन भएको हो । निर्वाचनको प्रचारप्रसारका लागि भएको चुनावी ¥यालीमा सहभागी भएकामाथी आत्मघाती आक्रमण हुँदा केही नेता पनि मारिएका जनाइएको छ । आक्रमणमा अवामी नेशनल पार्टीका एकजना स्थानीय नेता अवामी हरूर पनि मारिएका छन् । उनी पनि सो निर्वाचन ¥यालीमा सहभागी भएका थिए ।पाकिस्तानमा चुनावी प्रचारप्रसार अभियान शुरु भएसँगै देशमा हिंसा भड्किने त्रासबीच मंगलबारको दुखद् घटना भएको हो ।

मंगलबार भएको हमलाको तालिबान लडाकूहरूले नै जिम्मेवारी लिएका छन् । हिंसात्मक घटना हुन थालेसँगै आगामी निर्वाचनका लागि सुरक्षा खतरा रहेको चर्चा पाकिस्तानमा शुरु भएको छ । पाकिस्तानी सेनाकाले भने सुरक्षा र निर्वाचन सम्पन्न गर्न मात्र आफूहरू खट्ने स्पष्ट पारेको छ । निर्वाचनका लागि करिब तीन लाख ७० हजार सेना खट्ने र आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका उच्च अधिकारीहरूले जानकारी दिएका छन् । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्