नर्सको डरलाग्दो हर्कतः आफ्नो ड्युटीमा कोही नमरोस् भन्नका लागि यसरी लिइन् २० ज्यान

एजेन्सी / जापानमा उक नर्सको निकै डरलाग्दो हर्कत सार्वजनिक भएको छ । ती नर्सले विषालु सुइ लगाएर २० जना वृद्ध बिरामीको ज्यान लिएकी छिन् । आफ्नो ड्युटीका बेला कसैको मृत्यु भएमा सोधिने प्रश्नहरुबाट बच्नको लागि ती नर्सले यतिसम्म डरलाग्दो काम गरेको खुलेको छ । ती नर्सको सोचाइ थियो कि उनको ड्युटीको समय चलिरहँदा कुनै बिरामीको मृत्यु भएन भने उनलाई जिम्मेवार मानिनेछैन ।

योकोहामा शहरको ओगुची अस्पतालमा जुलाइदेखि सेप्टेम्बर २०१६ को बीचमा ४८ जनाको मृत्यु भएको थियो । सेप्टेम्बर २०१६ मा ८८ वर्षका सोजो निकिशावा र नोबुओ यामकीको मृत्युपछि पोष्टमार्टमको क्रममा शरीरमा एक किसिमको केमिकल भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । यस विषयमा सोधपुछको लागि अस्पतालकी नर्स ३१ वर्षकी अयुमी कुबोकीलाई हिरासतमा लिइयो । नर्सले ती २ जनाको हत्या गरेको त स्वीकार गरिन् नै उनले यस्तै गरी २० जनाको ज्यान लिइसकेको बताइन् ।

अयुमीका अनुसार उनले वृद्ध बिरामीको ड्रीपमा बेंजलकोनियम क्लोराइड नामक विषालु केमिकल मिलाउँथिन् । यसका कारण विस्तारै उनीहरुको मृत्यु हुन्थ्यो । यसका लागि उनले टाइमिङ यसरी सेट गर्थिन् कि उनीहरुको मृत्यु उनको ड्युटी शिफ्ट सकिएपछि मात्र होस् । निकिशावा र यामकीको मृत्यु डाक्टरले प्राकृतिक नै मानेका थिए तर पोष्टमार्टमका क्रममा उनीहरुको शरीरमा केमिकल भेटिएपछि शंका भएको थियो । जाँचका क्रममा नर्सको युनिफर्म, खानपिनका सामानm ड्रिपमा सिरिन्जले घोचेका चिन्हहरु, नर्सको शिफ्टको समय जाँच गरेपछि अयुमी शंकाको घेरामा परेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्