ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई सम्मान

काठमाडौँ,असार २९,/ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई आज यहाँ सम्मान गरिएको छ । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधी सभा सदस्य माननीय योगेश भट्टराईद्धारा आयोजना गरिएको सम्मान कार्यक्रममा सगरमाथा शिखर आरोहण गर्ने ३१ र कञ्चनजंघा आरोहण गर्ने ४३ जना गरी ७४ आरोहीलाई सम्मान गरिएको हो । त्यसै गरि  ताप्लेजुङबाट काठमाण्डौं आएर पर्यटन संग सम्बन्धित क्षेत्रमा रहेर काम गर्ने  बिभिन्न क्षेत्रका व्याबसायीहरुलाई समेत सम्मान गरिएको छ ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ताप्लेजुङको पर्यटन विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताउँदै त्यहाँको पर्यटन विकासका लागि पाथिभरा र सुकेटार विमानस्थलको विकास गर्नुपर्नेमा जोड दिए ।

निकट भविश्यमा नै मन्त्रालयले ६ वटा साना विमान ल्याउने तयारी गरेको जानकारी दिँदै उनले सोही अनुरुपको पूर्वाधार विकासका लागि मन्त्रालय अध्ययनरत् रहेको स्पष्ट पारे ।मन्त्री अधिकारीले भने, ‘मुलुकमा अब राजनीतिक बहस होइन, आर्थिक बहसको आवश्यकता छ ।’प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले प्राकृतिकरुपमा भरिपूर्ण ताप्लेजुङ विकासको दृष्टिकोणले निकैपछि परेको उल्लेख गर्दै ताप्लेजुङको विकासका लागि त्यहाँको पर्यटन क्षेत्रको विकास र विस्तार गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले पर्यटन क्षेत्रको विकासका लागि समयसापेक्ष नीति बनाउनुपर्ने बताए । कार्यक्रममा हिमाल आरोहण गर्नका लागि तालीम सञ्चालन गरी सहयोग गर्ने ३२ संस्थालाई पनि सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्