ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात

हेल्सिन्की, ३२ असार / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ता सकारात्मक रूपमा शुरु भएको छ । फिनल्याण्डको हेल्सिन्कीमा सोमबार शुरु भएको वार्ताले सकारात्मक संकेत गरेको दुवैतर्फका अधिकरीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

शिखर वार्ताका लागि दुवै नेता अहिले हेल्सिन्की आइपुग्नुभएको छ भने संसार भरका सञ्चार माध्यमहरूले प्राथमिकताका साथ शिखर वार्ताको समाचार सम्पे्रेषण गरिरहेका छन् । रुसी राष्ट्रपति पुटिन विश्वकप फुटबल प्रतियोगिताको भव्य समापन लगत्तै हेल्सिन्की आउनु भएको हो । त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्प युरोपको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न यहाँ आइपुग्नुभएको हो ।

वार्ता शुरु हुन अघि राष्ट्रपति ट्रम्पले रुससँग आणविक अस्त्र, नेटो, व्यापार, दुई देशबीचको आपसी कूटनीतिलगायतका विषयमा छलफल गर्ने बताउनुभएको थियो । उहाँले पत्रकारहरूलाई दिएको संक्षिप्त प्रतिक्रिया अनुसार वार्तामा विविधि मुद्दामा विस्तृत रूपमा छलफल हुने अपेक्षा गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो । दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो ।

यस भेट वार्ताका क्रममा राष्ट्रपतिद्वय ट्रम्प र पुटिनबीच यस विषयमा पनि कुराकानी हुनसक्ने अनुमान गरिएको छ । तर सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भनी लगाइएको आरोपको बारेमा पनि उक्त वार्तामा राष्ट्रपति ट्रम्पले प्रश्न उठाउन सक्ने अनुमान गरिएको छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा १२ जना रुसी अधिकारीमाथि हस्तक्षेपको अभियोग लगाइएको थियो । त्यसपछि उहाँहरूबीच यो पहिलो पटक भेटवार्ता हुन लागेको हो । अहिले शुरु भएको वार्ताबाट संभवतः ती विषयमा समाधान निस्कने अपेक्षा गरिएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।
रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्