चिनियाँ उपमन्त्री पाँचदिने नेपाल भ्रमणमा (नेपाल चीन सम्बन्ध जनस्तरमा लैजान जोड)

 काठमाडौं ,
पाँच दिने नेपाल भ्रमणामा रहेका चिनियाँ सार्वजनिक सुरक्षा उपमन्त्री सी जुनले सोमबार गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन्।

आइतबार बौद्धनाथ र स्वयंभुको अवलोकन भ्रमण गरेका उनले दोस्रो दिन गृहमन्त्री थापासँग भेटवार्ता गरेका हुन्। गृह मन्त्रालयमा भएको वार्तामा उनले नेपाल(चीनबीचको आपसी सम्बन्धलार्इ बलियो र जनस्तरमा लैजानु पर्नेमा जोड दिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टरार्इले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि नेपाल भ्रमण गर्ने जुन सबैभन्दा उच्च व्यक्ति हुन्। सार्वजनिक सुरक्षा उपमन्त्री सी जुनले मन्त्री थापालाई चीन भ्रमणको निम्तो समेत दिएका छन्।

भेटवार्ताका क्रममा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए। उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए।

सशस्त्र प्रहरीको तालिम केन्द्र निर्माण गरिदिएको चीनले गृह मन्त्रालय भवनको स्तर उन्नतिका लागि समेत आर्थिक सहयोग गरिरहेको छ। नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्