आज साउने संक्रान्ति पर्व मुलुकभर भब्यरुपमा मनाइदै

काठमाडौँ, १ साउन / आज साउने संक्रान्ति अर्थात् हिन्दू धर्मालम्बीहरुको एउटा पवित्र महिनाको सुरुवातको दिन हो आज । आजकै दिनबाट एक महिनासम्म हिन्दू धर्मालम्बीहरुले विभिन्न शिवालयमा गएर पवित्र आत्माले भक्ति पूजा आराधना गर्ने गर्दछन् । ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिएको हो ।

हिन्दू नारीलाई साउन महिनाको विशेष महत्व हुन्छ । साउन महिनाभरि भगवान शिवको पुजा आराधना गर्ने तथा हरियो पहिरनमा सजिने संस्कृति नै बनिसकेको छ । विवाहित महिलाहरू साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।

सोहीअनुसार हरियो पोते, चुरा तथा अन्य श्रृंगार गर्छन् । हरियो रङलाई प्रेमको संकेत ठानिन्छ । साउनमा हरियोसँग रातो र पहेँलो रङको मिश्रण पनि मिलाउने गरिन्छ । पार्वतीलाई पनि मन पर्ने रङ भएका कारण साउनमा हरियो ड्रेसअप गर्ने प्रचलन छ । साउनलाई भगवान शिवप्रति समर्पित महिना अर्थात शिवको महिना पनि भनिन्छ ।

असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छाला रोगबाट जोगिनको लागि यस दिन लुतो फाल्ने प्रचलन रहेको छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास पनि रहिआएको छ ।

लूतो फाल्दा कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधिजन्य वनस्पतिमा कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ । तर केही वर्षदेखि भने लुतो फ्याँक्ने प्रचलन बिस्तारै हराउन थालेको छ । आजका दिनदेखि साउन महिनाभर नेपाल लगायत विश्वका कयौँ शिवालयहरुमा मेला लाग्ने गर्दछ । शिवभक्तहरु पहेँलो बस्त्र लगाएर बोल बम अवतारमा शिव मन्दिर धाउने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्