म्याग्दीको दग्नाम तोयमा सडक भासियो, सवारी आवागमन ठप्प

१ साउन, म्याग्दी / म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको लगातार वर्षापछि सोमबार दिउँसो जमिन धाँजा फाटेर पहिरो जाँदा करीब २५ मिटर सडक भासिएको हो ।

सडक तलको भिरालो जमीन धाँजा फाटेर पहिरो गएपछि सडकमा सवारीसाधन चल्न नसक्ने भएको दग्नामका वडाध्यक्ष एकबहादुर गर्बुजाले बताए । पहिरो जाने क्रम नरोकिएकाले सडक भासिनेक्रम जारी छ । मानिससमेत आवतजावत गर्न जोखिम बढेकाले बाटो बन्द गरिएको वडाध्यक्ष गर्बुजाले बताए ।

वैकल्पिक घोरेटो बाटो निर्माणका लागि वडाका जनप्रतिनिधिले आज श्रमदानको आह्वान गरेका छन् । सडक भासिँदा दग्नाम, दर्मीजा, चिमखोला, कुइनेमंगलेका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । सो स्थानमा विगत तीनचार वर्ष अघिदेखि जमीन धाँजा फाटेर पहिरो जाने समस्या थियो ।

सडक खनेपछि पहिरो जाने र जमीन भासिने क्रम बढेको स्थानीयवासीले बताएका छन् । पहिरो प्रभावित क्षेत्रको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, गाउँपालिकाका अध्यक्ष लगायत जनप्रतिनिधि र सुरक्षा अधिकारीको टोलीले स्थलगत निरीक्षण गरेको छ । निरन्तर पहिरो बगिरहेकाले उच्च जोखिम भएको ठहर गर्दै पैदलबाट समेत आवतजावत बन्द गरेर वैकल्पिक बाटोको व्यवस्था मिलाउने तयारी भएको जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्