काँग्रेसद्धारा सरकारविरुद्ध देशब्यापी सडक आन्दोलनको घोषणा

काठमाण्डौं, साउन १ / प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन गर्ने घोषणा गरेको छ ।
महामन्त्री डा. शशांक कोइरालाले मंगलबार एक विज्ञप्ति जारी गर्दै केन्द्र सरकार र प्रदेश सरकारहरुले अधिनायकवादी चरित्र देखाएको भन्दै कांग्रेसले साउन १५ गते बाट सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई निर्देशन दिएको छ । महामन्त्री कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ( ‘संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने, सरकार र पार्टी एकै जस्तो गरेर संचालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरुलाई व्यवसायिक रुपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिवद्धताका आधारमा चलाउने प्रवृत्ति स्पष्ट रुपमा प्रकट भएका छन्’ ।

महामन्त्री कोइरालाले  संघीय सरकार र प्रदेश सरकारहरु लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि बढ्नुको सट्टा कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट चलिरहेको आरोप लगाएका छन् । देउवा प्रधानमन्त्री भएको बेला विधिसम्मत् तरिकाबाट गरिएका नियुक्तिहरु गैरकानूनी तरिकाबाट खारेज गरिएको, वृद्धभत्ता पाउने उमेर सत्तरी वर्षबाट घटाई ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय र मृगौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटु रोगका गम्भीर विरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय कार्यान्वयन नगरेकोमा पनि कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेसले डा। गोविन्द केसीको अनसन र आन्दोलनबाट सिर्जित परिस्थितिलाई गम्भीर रुपमा लिएको भन्दै देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश हुवहु विधेयकका रुपमा आउनुपर्ने माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्