फेक न्युजलाई पूरै हटाउन सक्दैनौं, बरू तलतिर धकेल्दिन्छौं : फेसबूक

काठमाडौं /  सामाजिक सञ्जाल कम्पनी फेसबूकले आफ्नो प्लेटफर्मबाट फेक न्युजलाई हटाउन नसक्ने जानकारी दिएको छ । तर कुनै पोस्ट फेक न्युज जस्तो देखिएमा त्यसलाई न्युज फीडमा तलतिर धकेलिदिने उसले जनायो ।

फेक न्युजले कम्पनीको कम्युनिटी स्ट्यान्डर्डलाई उल्लंघन नगर्ने भएकाले त्यसलाई हटाउन नमिल्ने फेसबूकको जिकिर छ । ‘फेक न्युज जस्तो पोस्ट गर्नेहरूको एक फरक दृष्टिकोण हुन्छ र त्यसलाई हटाउनु भनेको अभिव्यक्तिको स्वतन्त्रताविरुद्धको कदम हो,’ फेसबूकले जनायो । अहिले फेसबूकले बेलायतमा फेक न्युजविरुद्ध एउटा विज्ञापन अभियान चलाइरहेको छ जसलाई ‘फेक न्युज इज नट आवर फ्रेन्ड’ नाम दिइएको छ ।

अमेरिकाको न्युयोर्कमा सीएनएनको रिपोर्टरलाई फेसबूकका तर्फबाट जवाफ दिँदै जोन हेगमनले भने, ‘हामीले मानिसहरू आफ्नो कुरा राख्न सकून् भनेरै फेसबूक बनाएका हौं ।’ फेसबूक प्रवक्ताले पनि भने, ‘अभिव्यक्तिका रूपमा मानिस फेक न्युज जस्ता कुरा पोस्ट गर्न सक्छन् तर हामी यी पोस्टहरूलाई न्युज फीडमा मास्तिर देखाउँदैनौं ।’ कुनै पोस्टमा फेसबूक प्रयोगकर्ताहरूले रिपोर्ट गरेर पोस्टमा दिइएका तथ्य गलत छन् भनेमा उक्त पोस्टलाई न्युज फीडमा तलतिर घचेटिन्छ । अर्थात् फेक न्युज फेसबूकमा त रहन्छ तर कसैले पनि त्यो पोस्ट देख्न पाउँदैन ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्