एडेन हाजार्डलाई भित्राउन रियल म्याड्रिडको तयारी

ब्रसेल्स / बेल्जियम मिडियाका अनुसार रियल म्याड्रिड चेल्सीका एडेन हाजार्ड भित्राउन नजिक रहेको छ । रियलले आफ्ना सुपरस्टार क्रिस्टियानो रोनाल्डो गुमाएपछि ट्रान्सफर विन्डोमा विक्ल्पको खोजीमा रहेको छ ।

रियल म्याड्रिडले पिएसजीका नेयमार र किलियन एम्बाप्पेलाई भित्राउन प्राथमिकतामा राखे पनि दुवैले यस सिजनका लागि आफू पेरिसमा रहने बताएका छन् । हाजार्डले भने केही सिजनदेखि रियल म्याड्रिड जाने चाहना व्यक्त पनि गरिरहेका छन् । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सिल्भर बल (दोस्रो उत्कृष्ट खेलाडी) को उपाधि जितेका हाजार्डले प्रतियोगितामा आफ्नो क्षमता देखाइसकेका छन् । बेल्जियन मिडियाहरुका अनुसार रियलले उनलाई १ सय ९० मिलियन युरोसम्म खर्चिन सक्ने छ ।

चेल्सीमा भर्खरै प्रशिक्षक पनि परिवर्तन भएका छन् । अहिलेका प्रशिक्षक मारिजियो सारी भने हाजार्डलाई चेल्सीमै राख्न चाहेको बताएका छन् । विश्वकपमा बेल्जियमलाई तेस्रो स्थानमा पुर्‍याएपछि हाजार्डले नयाँ चुनौतीतिर आफ्नो नजर रहेको बताएका थिए ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्