च्याउ किसानको अनुदान रकममा भ्रष्टाचार भएको आरोप

इटहरी / मोरङ जिल्लाको बूढीगंगगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकम व्यापक अनियमितता र विषयान्तर गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका छन् ।

व्यावसायिक च्याउखेती गर्दै आएका किसानले शुक्रबार पत्रकार सम्मेलन गरी परियोजनाअन्तर्गत किसानको हितमा आएको रकम गाउँपालिकाले दुरुपयोग गरी किसानप्रति उपेक्षित नीति लिएको आरोप लगाए । किसानको हितका लागि निकासा भएर आएको पैसा खास किसानलाई उपलब्ध नगराइएको र विषयान्तर गरेर रकम दुरुपयोग गरिएको तथ्यसमेत फेला परेको भनी गाउँपालिकाविरुद्ध इटहरीस्थिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लिखित उजुरीसमेत दिने तयारी भइरहेको किसान नेपाल च्याउ उद्योगका सञ्चालक सरोज नेपालले बताए ।

च्याउखेती किसानका लागि अनुदानका रुपमा आएको १६ लाख २० हजारमध्ये केही रकम च्याउखेती किसानलाई झारा टार्ने हिसाबले उपलब्ध गराएर अधिक रकम अन्यत्र लगाइएको पाइएको अर्का किसान इन्द्र तिम्सिनाले बताए । गाउँपालिकाअन्तर्गत रहेका ४० देखि ५० जना व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले दैनिक ६० हजारको च्याउ उत्पादन गरेको र दैनिक ४० हजारसम्मका च्याउको बीउसमेत बिक्री गर्दै आएका छन् ।

व्यावसायिक च्याउ किसानले सार्वजनिक गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका विषयमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीसँग बारम्बार मोबाइलमा सम्पर्क गर्दा हुन सकेन । रासस


प्रतिक्रिया दिनुहोस्