सोबुवाखोलामा निर्माण भएको पुल उद्घाटन

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, ५ साउन / ताप्लेजुङको पश्चिमी आठराई त्रिवेणी गाउँपालिकास्थित सोबुवाखोलामा पक्की मोटरेवल पुल निर्माण भएको छ । दुई करोड बढी रुपियाँको लागतमा निर्माण सम्पन्न भएको उक्त गाउँपालिकाको वडा नं. ५ चाँगे र वडा नं. ३ हाङ्पाङ जोड्ने मोटरेवल पुलको शनिबार उद्घाटन गरिएको छ ।

                                             सोबुवाखोलामा निर्माण भएको मोटरेवल पक्की पुल । तस्बिर :प्रयास ।

खनाल थेबे जेभी निर्माण कम्पनीले निर्माण गरेको उक्त पुलको लम्बाई २२ दशमलव ५० मिटरको रहेको छ । उक्त पुलको शनिबार जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । कुल दुई करोड चार लाख १० हजार ९८९ रुपियाँको लागतमा पुलको निर्माण सम्पन्न भएको निर्माण कम्पनीका प्रोपाइटर कालीबहादुर थेबेले जानकारी दिनुभयो ।

यता सो पुल निर्माण सम्पन्न भएसँगै अब हिउँद/वर्षा दुवै मौसम अर्थात बाह्रै महिना सवारी साधन सञ्चालन गर्न सकिने भएको आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलाले बताउनुभयो । अध्यक्ष सिटौलाका अनुसार पुलको अभावमा गाउँगाउँमा सडक पहिले नै निर्माण भएका भए पनि नियमित रुपमा सवारी साधनहरु सञ्चालनमा आउन सकेका थिएनन् । अब सोबुवाखोलामा पक्की मोटरेवल पुल निर्माण भएपछि नियमित रुपमा यातायात सञ्चालन हुनेमा विश्वस्त रहेको सिटौलाले बताउनुभयो ।

यस्तै पुलबनेपछि स्थानीयबासी पनि हर्षित भएका छन् । गाउँमा वर्षौ अघिदेखि नै सडकहरु निर्माण भए पनि पुल नहुँदा यातायातका साधनहरु सञ्चालन हुन नसकेको अवस्थामा पुल निर्माण भएपछि यातायातका साधान सञ्चालनमा आउने भएकोभन्दै स्थानीयबासी हर्षित भएका हुन् । हाङ्पाङका स्थानीय प्रजिन हाङ्बाङले सोबुवाको पुल निर्माणले अब आठराई त्रिवेणीको हाङ्पाङ, फुलबारी, निघुरादिन हुँदै तेह्रथुम जिल्ला लगायतका ठाउँमा यातायातको पहुँच पुग्ने भएको बताउनुभयो । यस्तै आठराई त्रिबेणी हुँदै जिल्लाको मैवाखोला र मेरिङ्देन गाउँपालिकाअन्तर्गतका साविकका दर्जनौ गाविसमा सवारी साधन सहज रुपमा सञ्चालन गर्न सकिने भएको पनि उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्