रियलमा बेलको भूमिका निर्णायक हुने अपेक्षा !

म्याड्रिड / रियल म्याड्रिडले अबको सिजनमा गेराथ बेल निर्णायक हुन सक्ने विश्वास गरेको छ । बेल र उनका प्रतिनिधिसँग रियलका नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइले यस्तो आसय व्यक्त गरेपछि उनी रियलमै रहने सम्भावना बढी छ ।

म्यानचेस्टर युनाइटेडले भित्राउने योजनामा रहेका बेललाई क्रिस्टियानो रोनाल्डोको बर्हिगमनपछि मुख्य भूमिका दिइने सम्भावना छ । रोनाल्डो १ सय मिलियन पाउन्डमा गत साता युभेन्ट्स पुगेका थिए । उनको अनुपस्थितिमा बेलले आफुलाई रियलमा स्थापित गराउने सक्ने अनुमान गरिएको छ ।

रियलमा पछिल्ला सिजन नियमित मौका नपाएपछि उनी युनाइटेड जाने सम्भाावना रहेको बताइएको छ । युनाइटेले उनलाई ३ लाख ५० हजार पाउन्ड प्रति साताको प्रस्ताव गर्ने योजनामा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बेल टोटेनह्यामबाट सन् २०१३ मा ८३.५ मिलियन पाउन्डमा रियल पुगेका थिए ।

च्याम्पियन्स लिग फाइनलमा पहिलो रोजाइमा नपेरपछि बेलले रियलमा आफ्नो भविष्य शंकामा रहेको बताएका थिए । वेल्सका लागि ७० अन्तर्राष्ट्रिय खेल खेलिसकेका बेलले परिवर्तित खेलाडीका रुपमा पनि रियलका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । जसमा उनले बाइसाइकल किकमा गोल गरेका थिए । जुन गोल निकै चर्चित भएको थियो ।

‘म खेल सुरु गर्न नपाउदा निराश छु,’ उनले च्याम्पियन्स लिग फाइनल पछि भनेका थिए,’ म हरेक साता खेल्न चाहन्छु । तर यो वा त्यो वहानामा खेल्ने अवसर पाएको छैन । त्यसैले मैले अब आफ्नो एजेन्टसँग विकल्पका बारेमा सोच्ने बेला आएको छ ।’ रोनाल्डो गएपछि रियलको माहोलमा परिवर्तन आएको छ, जसमा बेल पनि आशावादी हुन सक्छन् ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्