लाओसमा छ जनाको मृत्यु, १२५ जना अझै बेपत्ता

लाओस, ११ साउन / लाओसमा बाँध भत्किएर बगाएका मध्ये छ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।
अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अहिलेसम्म पनि १२५ जनाको अवस्थाका बारेमा केही थाहा हुन सकेको छैन ।
बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको र अरु कतिपयलाई उद्धार गरी अस्थायी शिविरमा व्यवस्थापन गरिएको जनाइएको छ ।
देशको दक्षिणी क्षेत्रमा रहेको जलविद्युत परियोजनाको बाँध भत्किएर बगाएका वा बेपत्ता भएका मध्ये अधिकांशको मृत्यु भएको हुन सक्ने स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

निर्माणाधिन अवस्थामा रहेको छेपिन छे नाम नोय जलविद्युत परियोजनाको बाँध यसै हप्ताको सुरुमा भत्किएको थियो ।
कम्बोडियाको सिमा क्षेत्रमा पर्ने लाओसको दक्षिणी क्षेत्रमा रहेको बाँध सोमबार बेलुका भत्किएको थियो ।

बाँध भत्किएपछि सानाम्याक्सी जिल्लाका सात गाँउ प्रभावित भएको र सयौं विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।
लाओसका प्रधानमन्त्री थोङलोन सिसौलिथले विस्थापित भएकाहरूलाई छाना सहितको वास स्थानमा व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो । घटनाबाट पिडितहरूलाई उद्धार तथा राहतका लागि सरकारी अधिकारीहरूलाई अधिकतम परिचालन गरिएको उहाँले बताउनुभयो । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्