विमानभित्र मोजाको दुर्गन्धले यात्रु विरामी भएपछि आकस्मिक अवतरण

न्यूयोर्कबाट फोर्ट लाउडेर्डेल जाँदै गरेको स्पिरिट एयरलाइन्सको फ्लाइटभित्र फोहोर मोजाजस्तो दुर्गन्ध फैलिएका कारण साउथ क्यारोलिनामा डाइभर्ट गरेर आकस्मिक अवतरण गर्नुपरेको बताइएको छ । स्पिरिट एयरलाइन्सको फ्लाइट ७७९ ले गत बिहिबार स्थानीय समयानुसार बेलुका ८ बजेर २५ मिनेटमा उडान भरेको थियो । तर विमानभित्र फैलिएको दुर्गन्धका कारण यात्रुहरु बिरामी पर्न थालेपछि विमानलाई १० बजे नै मर्टल बीचतर्फ मोडिएको थियो ।

एनबीसी न्यूयोर्क रिपोर्टका अनुसार दुई सय २८ यात्रु भएको उक्त विमान मर्टल बीचमा अवतरण भएपछि सबै यात्रुलाई बाहिर निकालेर यसको कारण थाहा पाउन अनुसन्धान गरियो । यात्रु स्टेफन कोस्टेलोका अनुसार विमानभित्रका केही बालबालिकाले बान्ता गरेका थिए भने एक महिला अचेत भएकी थिइन् ।

‘गन्ध अति नै खराब थियो यसको कारण के हो भन्ने थाहा छैन,’ कोस्टेलोले भने । गन्ध यति कडा थियो कि मर्टल बीच फायर रेस्क्यू हज्मात समूहले यसबारे अनुसन्धानसमेत गरेको छ ।

मर्टल बीच फायर रेस्क्यूका प्रवक्ता जोनाथन इभान्सका अनुसार १० जनाले स्वास्थ्य खराब भएको बताएका थिए जसमध्ये केहीको स्थानीय अस्पतालमा उपचारसमेत गरियो । अन्य एक यात्रुले उक्त गन्ध धुँवाको बताएका छन् । यद्यपी, गन्धको कारणबारे भने पत्ता लाग्न सकेन । एजेन्सी


प्रतिक्रिया दिनुहोस्