नयाँ क्लब र सिजनको तयारीमा जुट्दै रोनाल्डो

टुरिन /  युभेन्ट्ससँग औपचारिक सम्झौता गरेपछि क्रिस्टियानो रोनाल्डो नयाँ सिजनको तयारीका जुट्ने लक्ष्यसहित टुरिन पुगेका छन् । नयाँ टोलीका केहि साथीसँग भेटेका रोनाल्डो अब प्रशिक्षणमा जुट्ने बताइएको छ ।

रियल म्याड्रिडबाट १ सय मिलियन पाउन्डमा युभेन्ट्स आबद्ध भएका रोनाल्डोले प्रशिक्षणमा सामेल हुनुअघि शरीरका विभिन्न परिक्षण गराएका छन् । रियलका पूर्व स्टार आइतबार परिवारका साथ टुरिन पुगेका थिए । रसिया विश्व कपपछि रोनाल्डो विदामा थिए । रोनाल्डो परिवारका साथ व्यक्तिगत जहाजमा एयरपोर्टमा उत्रिदा उनलाई स्वागत गर्न केहि युभेन्ट्स फ्यान पुगेका थिए । उनले टोलीका अन्य थुप्रै खेलाडीसँग भेट्न भने बाँकी रहेको छ । मासिमिलियानो अलिग्रीको टोली प्रि सिजन तयारीका लागि अहिले अमेरिका भ्रमणमा रहेको छ ।

यद्दपी उनले टोलीका स्ट्राइकर गोन्जालु हिगुइनसँग भेटेका थिए । सन् २०१३ मा नेपोली जानुअघि हिगुइन रोनाल्डोसँगै रियलमा थिए । दुई वर्षअघि युभेन्ट्सले ७५।३ मिलियन पाउन्डमा हिगुइनले नेपोलीबाट युभेन्ट्स पुगेका थिए ।

यद्दपी अहिले उनी प्रिमियर लिग चेल्सी जाने चर्चा चलिरहेको छ । रानाल्डोले टोलीका अर्का खेलाडी अर्जेन्टिनाका पाउलो डेबालासँग पनि भेटेका छन् । युभेन्ट्सले शनिबार रोनाल्डोको पूर्व टोली रियलसँग इन्टरनेसन च्याम्प्यिन्स कपमा प्रतिस्पर्धा गर्दैछ । तर, रोनाल्डो त्यसमा खेल्ने सम्भावना कम छ ।

रोनाल्डोले अगस्ट १९ मा इटालियन सिरि एमा किइभोविरुद्ध हुने पहिलो खेलमा डेब्यू गर्ने सम्भावना छ । विश्व कपमा अन्तिम १६ उरुग्वेसँग पराजित भएयता रोनाल्डोले परिवार र साथीहरुका साथ ग्रिसमा विदा मनाएका थिए । त्यसपछि उनी नाइक र सिआर ७ को प्रबद्र्धनका लागि चीन पुगेका थिए । अब नयाँ सिजनको उत्कृष्ट सुरुवातका लागि पाँच पटकका बालोन डी ओरका विजेता जुटेका छन् ।


प्रतिक्रिया दिनुहोस्