फुङ्लिङ नगरपालिकामा अटो रिक्साको भाडादर निर्धारण

ताप्लेजुङ, साउन / ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले तीन पाङ्ग्रे सवारी साधन अटो रिक्साको भाडादर निर्धारण गरेको छ । केही समय अघिदेखि फुङ्लिङ नगरपालिका क्षेत्रमा सञ्चालन हुँदै आएको अटो रिक्साका लागि नगर कार्यपालिकाको बैठकले दूरी अनुसारको भाडादार निर्धारण गरेको हो ।


फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोखरेलका अनुसार फुङ्लिङ बजारको तोक्मेदेखि ल्याङ्बासम्मको भाडा ६५ रुपियाँ कायम गरिएको छ । यस्तै तोक्मे–बहानन्दे ४५ रुपियाँ, तोक्मे–हिटी ३५ रुपियाँ, तोक्मे–ऐश्वर्यचौक २५, तोक्मे–प्रशासन कार्यालय तथा र तोक्मे–पराजुलीचौक/बीरेन्द्रचौक दुवै दूरीका लागि १५–१५ रुपियाँ भाडादर निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिए ।
यस्तै तोक्मे–हस्पिटल/पानी ट्याङ्की/पाथीभरा चौकका लागि २५ रुपियाँ, तोक्मे–सेती चौतारा ३५, तोक्मे–रिपिटर टावर/आलु कटेज ४५ रुपियाँ र तोक्मे–सुकेटारका लागि ६५ रुपियाँ भाडा दर निर्धारण गरिएको उनले बताए । फुङ्लिङ नगरपालिकाले यसै वर्ष सञ्चालन अनुमति दिएको अटो रिक्सा केही व्यवसायीले मात्र यहाँ ल्याएर हाल सञ्चालन गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्