काठमाडौंबासीको मेलम्ची सपना पूरा हुँदै, शुरु भयो पानी परीक्षण,

काठमाडौं, १५ साउन /  राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको पानी परीक्षण शुरु भएको छ । काठमाडौैँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयबाट मेलम्ची खानेपानी वितरणका लागि सुन्दरीजल पानी प्रशोधन केन्द्रदेखि चावहिल धोबीखोलासम्म विछ्याएको पाइप लाइनमा पानी परीक्षण गर्ने कार्य धमाधम भइरहेको छ ।

Photo: RSS

केही स्थानमा पाइप विछ्याउने काम पनि भइरहेको र सो क्रममा घाइते भएको खण्डमा नेपाल मेडिकल कलेज जोरपार्टीले उपचार गर्ने विषयमा आयोजना कार्यान्वयन निर्देशनालय पिआईडी सँग सम्झौता भएको छ । उक्त कार्यमा भइपरी आउने दुर्घटनामा परी घाइते कामदार, कर्मचारी, स्थानीयबासीको उपचारका लागि आयोजना कार्यान्वयन निर्देशनालय पिआईडी र नेपाल मेडिकल कलेजबीच सम्झौता भएको अस्पतालका निर्देशक डा.राजेश किशोर श्रेष्ठले जानकारी दिएका छन।

सम्झौताअनुसार घाइतेको आकस्मिक रुपमा भर्ना गरी उपचारको व्यवस्था गर्ने, उपचारको क्रममा आवश्यक औषधि उपचारको व्यवस्था अस्पतालले गर्ने, आवश्यकता अनुसार सहज रुपमा चेकजाँत अस्पतालले गर्ने, सिफारीस गरि पठाएको बिरामीलाई अस्पतालमा उपलब्ध हुने मात्र औषधि उपचारको व्यवस्थाको सहजीकरण गर्ने, रिफर गर्नु परे विरामीको सम्पूर्ण उपचार काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गर्ने उल्लेख छ ।

साथै औषधिको हकमा भने अस्पतालको आफ्नै फार्मेसी नभएकाले अस्पताल भित्र रहेको निश्चल मेडिकल सेन्टर एण्ड फार्मेसीसँग समन्वय गरी अस्पतालले विल प्राप्त गरे पश्चात भुक्तानी दिने गरि सम्झौता भएको छ । सम्झौताअनुसार घाइतेले उपचारको पैसा अस्पताल बुझाउने छैन भने यसको भरपाई पिआईडीले अस्पताललाई गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्