गृहमन्त्री थापासँग म्यान्माका परराष्ट्र सचिवको शिष्टाचार भेट

काठमाडौँ, १५ साउन  /  गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका म्यान्माका परराष्ट्र मन्त्रालयका स्थायी सचिव उ मिन्त थुले आज शिष्टाचार भेट गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–म्यान्मा द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपाल भ्रमणमा रहनुभएका म्यान्माका परराष्ट्र मन्त्रालयका स्थायी सचिव उ मिन्त थुले आज गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता गर्नुहुँदै । तस्बिर ः किरण भट्टराई, रासस

परराष्ट्र मन्त्रालयसमेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री थापाले भेटमा नेपाल र म्यान्माबीच एतिहासिककालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै सोही कारण अहिले पनि म्यान्मामा हजारौँंको संख्यामा नेपाली मूलका म्यान्मालीहरु बसोबास गरिरहेको टिप्पणी गर्नुभयो ।उहाँले अन्तरदेशीय अपारध, मानवतस्करी लगायतका विषयमा दुई देशबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

भेटमा म्यान्माका परराष्ट्र सचिव थुले नेपाल र म्यान्माको सम्बन्धलाई थप मजबुत बनाउन बुद्धको जन्मभूमि लुम्बीनीले भूमिका खेलिरहेको बताउनुभयो । आफ्नो भ्रमणको क्रममा व्यापर, पर्यटनलगायतका क्षेत्रमा आपसी सहकार्यका सम्बन्धी सम्झौता भएको गृहमन्त्री थापालाई जानकारी दिँदै उहाँले सम्झौताबाट दुई देशबीच थप अन्य क्षेत्रमासमेत सहकार्यको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको गृह मन्त्रालय र म्यान्माको गृह मन्त्रालयबीच अपराध नियन्त्रण र तालिमका लागि सहयोग र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्