फुङ्लिङ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि टोल विकास संस्थासँग समन्वय गर्ने

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, १७ साउन  / ताप्लेजुङस्थित फुङ्लिङ नगरपालिकाले नगरक्षेत्रको फोहोर व्यवस्थापनका लागि स्थानीय टोल विकास संस्थाहरुसँग साझेदारी गर्ने भएको छ । टोल विकास संस्थाका प्रतिनिधि र नगर कार्यपालिकाका प्रतिनिधिबीच बिहीबार भएको छलफलले फोहोर व्यवस्थापनका लागि स्थानीय समुदायसँग साझेदारी गर्ने निर्णय गरेको हो ।

                    फुङ्लिङ नगरपालिकाको अस्पताल लाइन नजिक थुपारिएको फोहोरमैला । तस्बिर : प्रयास ।

नगर प्रमुख छत्रपति प्याकुरेलले टोल विकास संस्थाको क्षेत्र किटानीका लागि शुक्रबार बिहान पुनः बैठक बस्ने र त्यसपछि किटानी भएको क्षेत्रअनुसार फोहोर व्यवस्थापनका लागि सम्बन्धित टोल विकास संस्थाबाट कार्य प्रारम्भ हुनेगरी कार्यतालिका तयार भएको जानकारी दिनुभयो । प्याकुरेलका अनुसार आ–आफ्नो टोल विकास संस्थाको क्षेत्रभित्र अब नगरपालिकाले तोकेको फोहोर सङ्कलन गर्दा लिइने रकम टोल विकास संस्था आफैंले सङ्कलन गर्ने छ ।

सङ्कलित रकममध्ये ७० प्रतिशत रकम टोल विकास संस्थाले नगरपालिकालाई बुझाउने छ भने ३० प्रतिशत रकम संस्थाले आफुले राख्ने छ । प्राप्त भएको ३० प्रतिशत रकमबाट टोल विकास संस्थाले सङ्कलकको पारिश्रमिक र अन्य संस्थागत विकासमा खर्च गर्नेगरी कार्ययोजना तयार भएको नगर बिपद् तथा फोहोर व्यवस्थापन समितिका संयोजक एवम् वडा नं. ४ का वडाध्यक्ष जीतेन चेम्जोङ् लिम्बूले जानकारी दिनुभयो । नगरसभाले फोहोर सङ्कलनका लागि पसल र घरको अवस्था हेरी फोहोर व्यवस्थापन शुल्क निर्धारण गरेपनि अहिलेसम्म निःशुल्क रुपमा नगरबासीलाई सहयोग गरेको तर अबदेखि भने फोहोर व्यवस्थापन शुल्क असुल हुने जानकारी दिनुभयो ।

टोल विकास संस्थाले साझेदारीमा काम गर्न अनिच्छा देखाएको खण्डमा नगरपालिका आफैंले टेण्डरसहितका सबै विकल्प खुल्ला राख्ने तयारी भएको थियो । “अब अर्को व्यवस्था नभएसम्म टोल विकास संस्थामार्फत फोहोर सङ्कलन तथा व्यवस्थापनका कार्य हुनेछन्” नगर प्रमुख प्याकुरेलले भन्नुभयो । उहाँका अनुसार अब नगरक्षेत्रका सबन्धित टोल विकास संस्थाहरुसँग बसेर फोहोर सङ्कलनका लागि तोकिएको समय र दिन निर्धारण हुने छ । तोकिएको दिनमा नगरपालिकाको फोहोर व्यवस्थापन कार्यदलले सम्बधित नगरक्षेत्रबाट तोकिएको दिन र समय अनुसार फोहोर सङ्कलन गरेर लैजाने छ । निर्वाचित भएको १३ औं महिनापछि नगरपालिकाले नगरसभाले पारित गरेको दर अनुसार फोहोर सङ्कलन तथा व्यवस्थापन शुल्क असुल्न लागेको हो ।

फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोखरेलले दोस्रो नगरसभाले फोहोरमैला व्यवस्थापन शुल्क बापत कम्तिमा एक सय र बढीमा एकहजार रुपियाँसम्म निर्धारण गरेको जानकारी दिनुभयो । पोखरेलका अनुसार सुन, चाँदी तथा टेलर्स पसल, सैलुन, जुत्ता सिलाउने र आर्ट सेन्टरका पसललाई प्रति पसल प्रति महिना एक सय रुपियाँका दरले फोहोरमैला व्यवस्थापन शुल्क तिर्नुपर्ने छ । सरकारी कार्यालय, गैरसरकारी संघसंस्था, अन्य पसल, सब्जी मण्डी, बस तथा ट्याक्सी स्टेण्ड र बिद्यालय तथा घरधनीले जनही दुई सय रुपियाका दरले मासिक शुल्क तिर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

यस्तै ठूला होटल र अस्पतालका लागि प्रतिमहिना एक हजार रुपियाँ फोहोरमैला व्यवस्थापन शुल्क तोकिएको छ । मझौला होटलका लागि सात सय ५० रुपियाँ र साना होटलका लागि पाँच सय रुपियाँ प्रतिमहिना शुल्क तोकिएको छ भने फर्निचर उद्योग, मासु–माछा पसल र निजी बैङ्कलाई तीन सय रुपियाँ मासिक शुल्क बुझाउनुपर्ने गरी शुल्क निर्धारण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सङ्कलित फोहोरमैला व्यवस्थापन शुल्क फोहोरमैला व्यवस्थापनका लागि राखिएका कर्मचारीको तलबभत्ता र यसमा प्रयोग हुने ट्रयाक्टरको मर्मत सम्भार लगायतमा खर्च गरिने छ ।

 


प्रतिक्रिया दिनुहोस्