एक महिने अल्लो बुनाइ तालिम सम्पन्न

अरुण पोस्ट सम्बाददाता

ताप्लेजुङ / ताप्लेजुङमा एक महिने अल्लो कपडा बुनाई तालिम सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका वडा नं. ४ स्थित महिला जागरण मञ्चले आयोजना गरेको एक महिने अल्लो कपडा बुनाई तालिम बिहीबार सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका कार्यालयको आर्थिक सहयोगमा महिला जागरण मञ्चले सञ्चालन गरेको तालिम सम्पन्न भएसँगै बिहीबार समापन कार्यक्रम गरिएको छ ।

                                                        फाइल तस्विर

समापन कार्यक्रममा तालिमका सहभागीलाई फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल, प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोख्रेल, वडा नं. ४ का वडाध्यक्ष जीतेन चेम्जोङ लिम्बू र कृषि विकास बैंकका प्रवन्धक यामबहादुर श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुभएको थियो । समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख प्याकुरेलले तालिमले आत्मनिर्भर बन्नमा सघाउ पु¥याउने बताउनुभयो । उहाँले आफुले सिकेको सिपलाई कुनै न कुनै रुपमा सदुपयोग गर्न सहभागीलाई सुझाव दिनुभयो ।

यता तालिम आयोजक संस्थाकी अध्यक्ष शान्ति मादेनले तालिम सञ्चालन गर्न त्यति सहज नभएको बताउँदै नगरपालिकाले दिएको रकममाथि संस्थाले समेत लगानी गरेर एक महिने तालिमको आयोजना गरेको बताउनुभयो । मादेनले विभिन्न क्षेत्रका १० जना विपन्न तथा दलित महिलालाई सहभागी गराएको बताउनुभयो । उहाँका अनुसार तालिमको अवधि छोटो भए पनि सहभागीले अत्यन्तै लगनशील भएर सीप सिकेका छन् । तालिममा गीतामाया राईले सीप सिकाउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्