‘फरार’ राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न प्रहरीलाई अदालतको पत्र

जनकपुरधाम / उच्च अदालत जनकपुरले असई थमन विक हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्र काटेको छ । उक्त घटनाका फरार प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको अदालतले बिहीबार फैसलाको प्रति पठाएको छ । उच्च अदालतका प्रमुख रजिष्टार मानबहादुर कार्कीले फरार सबै प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालयका प्रमुखलाई फैसलासहित पक्राउ गर्न पत्राचार गरिएको बताएका छन ।

बिहीबारनै हुलाकमार्फत पत्र पठाइएको उनले जानकारी दिएका छन। मधेस आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या घटनाका फरार प्रतिवादी अभिराम शर्मा हाल प्रदेश २ को सामाजिक विकास राज्यमन्त्री हुन । फरार प्रतिवादीमध्ये शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर छन् भने कौशलकुमार यादव प्रदेश सभा सदस्य छन् । प्रहरीका अनुसार ती प्रतिवादीहरू लगायत २८ जना हालसम्म फरार रहेका छन् ।

महोत्तरीमा ०७२ भदौ २५ गते आन्दोलनकारीको कुटपिटबाट घाइते भएका असई थमन विकलाई उपचारको लागि जनकपुरतर्फ लैजाँदै गर्दा एम्बुलेन्सबाट थुतेर कुटी हत्या गरिएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख कुवेर कडायतले उच्च अदालतको पत्र प्राप्त नभइसकेको जानकारी दिए । पत्र प्राप्त भएपछि अदातलको आदेश कार्यान्वयन गरिने र कानुनअनुसार कारवाही प्रक्रिया अघि बढ्ने बताए ।

                                                                             अदालतले प्रहरीलाई पठाएको पत्र

मंगलबार उच्च अदालत न्यायाधीशहरु माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको इजलासले फरार प्रतिवादीहरुलाई पक्राउ गर्न परमादेश जारी गरेको थियो ।

घटनाका फरार प्रतिवादी प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफूले अदालतको फैसलालाई सम्मान गर्ने बताएका छन् । महोत्तरीको एकडाँरा गाउँपालिकामा कार्यक्रममा सहभागी हुन पुगेका राज्यमन्त्री शर्माले फैसलाको सम्मान गर्ने बताएको हो ।

यद्यपी उनले यो राजनीतिक प्रकृतिको मुद्दा भएको र सरकारसँग यस विषयमा सहमति भइसकेको पनि बताएका छन । ‘यो राजनितिक मुद्धा हो । सरकारसंग सहमति भइसकेको अवस्था छ, सरकारले आफुले गरेको सम्झौता प्रति एकदम प्रतिवद्ध भएर अगाडि बढ्नुपर्छ । उनले भने । त्यस्तो केही भयो भने अदालतको सम्मान गर्छु’


प्रतिक्रिया दिनुहोस्