“मेरो छोरोले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस्”- अब्राहम लिंकन

मेरो छोराले के सिकोस ? भनि अब्राहम लिंकनले प्रधानाध्यापकलाई लेखेको पढ्नै पर्ने पत्र ।

श्रीमान प्रधानाध्यापक ज्यू,

मेरो छोरोले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन् । यो कुरा बुझाउन त समय लाग्ला नै । तैपनि उसलाई परिश्रम गरी कमाएको एक डलर सित्तैमा पाएको पाँच डलरभन्दा बढी मूल्यवान हुन्छ भन्ने कुरा बताइदिनुहोस् । उसले विजय र पराजय भनेको के हो, राम्ररी बुझोस् ।

 

त्यस्तै, ईर्ष्याले युक्त भएको हाँसोको भित्री मर्म बुझोस् । उसलाई आकाशमा उडिरहेका चराहरु, रमाइलो दिनमा भुन्भुनाइरहेका माहुरीहरु र पहाडी काखमा फुलेका फुलहरुको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस् । मेरो छोरो जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् । सुनेको कुरालाई राम्ररी छु्ट्याउन सक्ने होओस् । दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होओस् ।

उसलाई कहिले काँही आँखाबाट आँसु झार्नु लाजमर्दो कुरा होइन भनिदिनुहोस् । ऊ आफ्नो बाहुबल बुद्धि र सामथ्र्यमा विश्वास गरोस् । यदि उद्धेश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भएपनि जीउज्यानले लागिपरोस् । उ भित्र सत्य र न्यायका लागि संघर्ष गर्न साहास र दृढशक्तिको विकास गरिदिनुहोस् ।

ऊसँग नम्र व्यवहार त गर्नुहोस् तर उसले टाउकामा टेक्ने गरी चाहिँ होइन । सम्झनुहोस्, आगाको लप्काबाटै फलाम खारिन्छ । ऊ भित्र साहास र सँधै केही गरौं भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयंम निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान हुन सक्छ ।

धन्यवाद ।

अब्राहम लिंकन


प्रतिक्रिया दिनुहोस्