गोलकिपर हार्ट सिटीबाट बर्नलीतिर

लन्डन / इंग्ल्यान्ड तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका गोलकिपर जोए हार्ट अर्को प्रिमियर लिग क्लब बर्नली जाने भएका छन् । बर्नलीले हार्टलाई ४ मिलियन पाउन्डमा अनुबन्ध गर्ने भएको बताइएको छ ।

हार्ट पछिल्लो दुई सिजन लोनमा टोरिनो र वेस्टह्यामबाट खेलेका हुन् । बर्नलीमा अनुबन्ध भएसँगै हार्टले सिटीसँगको १२ वर्षे यात्रा टुंगिनेछ । दुई वर्ष अघि प्रशिक्षकको रुपमा पेप ग्वार्डिओला आगमनसँगै हार्ट टोलीको पहिलो रोजाइमा पर्न असफल भएका थिए । जसका कारण उनी लोनमा अन्य क्लबमा लागेका थिए ।

नयाँ सिजन अघिको प्रि सिजनमा भने हार्टले सिटीबाट खेलेका थिए । हार्टको शनिबार स्वास्थ्य परिक्षण हुने बताइएको छ । बर्नलीको पहिलो रोजाइमा पर्न हार्टको निक पोपी र टोम हिटनसँग प्रतिस्पर्धा हुनेछ । ३१ वर्षे हार्टले रसिया विश्वकपमा इंग्ल्यान्ड टोलीमा पनि स्थान बनाउन सकेका थिएनन् ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्