इमरानलाई सोमबार प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने

इस्लामावाद / पाकिस्तानको तेहरीक–ए–इन्साफ (पिटीआई) का अध्यक्ष इमरान खानलाई भोलि (सोमबार) औपचारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ ।

पार्टीका प्रवक्ता फवाद चौधरीले दिएको जानकारी अनुसार सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकले खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्ने भएको छ । पार्टीको संसदीय दलको बैठक सोमबार इस्लामाबादमा बोलाइएको छ । “पार्टीका तर्फबाट निर्वाचित सबै नेतालाई सोमबारको बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ,” उहाँले भन्नुभयो । उहाँले खानको नेतृत्वमा केन्द्रीय सरकार बनाउन आवश्यक पर्ने सांसदहरुको संख्या पुग्ने दावी पनि गर्नु भएको छ ।

पिटिआइका सांसद र स्वतन्त्र सांसद गरी संघीय संसदमा १२५ जना सांसद आफ्नो पक्षमा रहेको चौधरीको भनाई छ । तर, संघीय संसदमा आफ्नो पार्टी, स्वतन्त्र र गठबन्धनमा रहेका पार्टीका गरी १७४ जना सांसद खानको पक्षमा रहेको पनि उहाँले जानकारी दिनुभयो । बलुचिस्तान नेसनल पार्टीका तीन सांसदले पनि खानको पक्षमा मतदान गर्नेछन् । पाकिस्तानमा गत जुलाई २५ तारिखमा भएको निर्वाचनबाट खानको पार्टी पिटिआइ सबैभन्दा ठूलो पार्टी भएपछि उहाँको नेतृत्वमा सरकार गठन गर्ने तयारी भएको हो । खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । एएनआई


प्रतिक्रिया दिनुहोस्