खलंगामा पहिरोबाट ७ को शव भेटियो, अझै २ जना बेपत्ता

जाजरकोट / जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरामा परी सात जनाको मृत्यु भएको छ।

पहिराले पुरेका उनीहरुको शव निकालिएको छ भने २ जना अझै बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका– ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको हो। मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतला, उहाँका छोरी नौवर्षीया भावना, छवर्षीया रञ्जना र तीन वर्षीया मनिषा छन्। उनीहरुको शव पहिराले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो।

उनीहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए। त्यस्तै घरमूली तीर्थराज बोहराकी सातवर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ। मृत्तक अन्य दुई जनाको भने सनाखत भएको छैन। जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ। छाती, टाउको र खुट्टामा चोट लागेका उनको अवस्था गम्भीर रहेको बताइएको छ।

बेपत्ता दुई जनाको खोजीकार्य भइरहेको जनाइएको छ।

पानी परिरहेकाले उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन्। उद्धार र उपचारमा कुनै कसुर बाँकी नराख्न उनले निर्देशन दिनाका साथै सुर्खेतबाट घाइतेका उपचारका लागि हेलिकप्टर जाजरकोट जान लागेको बताए।


प्रतिक्रिया दिनुहोस्