भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरी ड्रोन आक्रमण,मुस्किलले जोगिए राष्ट्रपति

काराकास, भेनेजुएला, २० साउन / भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उहाँलाई लक्षित गर्दै आक्रमण भएको थियो ।

सरकारले उक्त आक्रमणबाट राष्ट्रपति जोगिनु भएको जनाउँदै आक्रमणमा परी सात जना सैन्य अधिकारीहरु घाइते भएको जनाएको छ । “यो राष्ट्रपति निकोलस मडुरो विरुद्धको आक्रमण हो,” भेनेजुएलाका सञ्चार मन्त्री जर्ज रोड्रिगेजले भन्नुभयो । घटना हुँदा उक्त सैनिक कार्यक्रमको एक टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको थियो ।

राज्य–सञ्चालित टेलिभिजनले प्रशारण गरेको दृश्यमा विस्फोटको ठूलो आवाज सुनिएपछि राष्ट्रपति मडुरो त्रसित हुनुभएको र सैनिकहरुले उहाँलाई घेरा हालेका थिए भने भाषण सुनिरहेका सैनिक टुकडी तितरबितर भएका थिए । सञ्चार मन्त्री जर्जका अनुसार, राष्ट्रपति बोलिरहनुभएको मञ्चको छेउमै विस्फोट भएको थियो, र यस्ता विस्फोट त्यहीँनजिक अरु पनि भएका थिए ।

यसैबीच राष्ट्रपति मडुरोले कोलम्बियाका राष्ट्रपति हुआँ म्यानुअल सान्तोसले सो आक्रमण गर्न लगाएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभएको छ, “यसमा मलाई कुनै दुविधा छैन, यो घटना हुनुका पछाडी कोलम्बियाका राष्ट्रपतिको हात छ ।” तर कोलम्बिया सरकारले मडुरोको उक्त आरोपको खण्डन गरेको छ । आक्रमणपछि अहिले भेनेजुएलामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने सुरक्षाकर्मीहरु व्यापक रुपमा परिचालन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्