बाबु आमालाई अनसनमा राखेर चार वर्षदेखि गायव नुरप्रसाद समातिए

काठमाडौं, २० साउन / गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको हो । हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार आयोगसमक्ष आफ्नो छोराको खोजी गरिदिन आग्रह गरे पछि त्यसअनुसार नै अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन सानेपाबाट नियन्त्रणमा लिएको हो ।कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अनसन बसेपछि नुरप्रसाद वेपत्ता भएका थिए ।

अनसनकै क्रममा नन्दप्रसादको निधन भयो । अनसनमै निधन भएका नन्दप्रसादको शव चार वर्षदेखि महाराजगञ्जस्थित शिक्षण अस्पतालको पोष्टमार्टम कक्षमा रहेको छ । जेठा छोरा नुरप्रसाद बाबुको शव बुझ्न पनि आएका थिएनन् ।
नुरुप्रसादमाथि पिताको शवलाई लिएर राज्यसँग पैसाको बार्गेनिङ गरेको समेत आरोप लागेको थियो । उनी काठमाडौँमै रहेर पनि अनसनमा रहेकी आमाको सम्पर्कमा पनि आएका थिएनन् । कान्छो छोरो कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न माओवादी कार्यकर्ताहरुमाथि कार्वाहीको माग राख्दै ३३२ दिनदेखि आमरण अनसन बसेका नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो । पतिको निधनपछि पनि कान्छो छोराका दोषीलाई कार्बाही माग गर्दै आमा गंगा माया अनसन बस्दै आएकी थिइन् । उनको अनसन पनि यही असार ३० गते तोडिएको थियो ।

सरकारले दुई बुँदे सहमति गरेपछि गत जेठ १५ गतेदेखिको आमरण अनसन उनले तोडेकी हुन् । सम्झौतापत्रमा गंगामायाले आफ्नो छोरालाई खोजिदिनु पर्ने पनि माग थियो । त्यही अनुसार सरकारले नुरप्रसादको खोजी थालेको थियो । कृष्णप्रसाद हत्याको अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि उनलाई डिल्लीबजारस्थित कारागारमा लगिएको थियो । २०७२ सालमा भएको पाँच बुँदे सहमतिमा कृष्णप्रसादको हत्यामा संलग्न रुद्र आचार्यलाई पनि कार्वाहीको दायरामा ल्याउने भनिएको थियो । रुद्र त्यही समयदेखि बेलायतमा रहेको बताइन्छ । प्रहरीले त्यो बेला बेलायतसँग सुपुर्दगी सन्धि नभएको जनाउँदै इन्टरपोलमा खबर गरे पनि पक्राउ पर्न नसकेको उल्लेख गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्