चर्चित पप गायिका एलेन जोयस लुको घरबाट लडेर मृत्यु

काठमाडौं, २० साउन / हङकङकी चर्चित पप गायिका एलेन जोयस लुको आज विहान घरबाट लडेर मृत्यु भएको छ । ३२ वर्षीया एलेन ह्यापी भ्याली भवनबाट स्थानीय समयअनुसार विहान करीब १० बजे लडेकी थिइन् ।

साउथ चाइना मर्निङ पोष्टले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ । एलेन सन् २०१३ देखि मानसिक रोग बाइपोलर डिसअर्डरबाट ग्रसित थिइन् । गत वर्ष उनले आफू समलिङ्गी भएको सार्वजनिक गर्दै विश्वलाई चकित पारेकी थिइन् । सन् १९८६ मा क्यानडाको टोरान्टोमा जन्मेकी एलेन ४ वर्ष हुँदा परिवारसहित हङकङ आएकी थिइन् । १५ वर्षको उमेरदेखि व्याण्डमा सहभागी उनले १७ वर्षको उमेरमा इमान लाम यी–म्यानसँग संयुक्त रुपमा म्युजिक व्याण्ड सञ्चालन गरेकी थिइन् ।

सन् २०१० देखि ताइवानबाट सोलो करियर शुरुवात गरेकी उनले गत वर्ष ताइवानमा २८ औं गोल्डेन मेलोडी अवार्ड जितेकी थिइन् । त्यही बेला उनले आफू समलिङ्गी भएको बताउँदै आफ्नी पत्नी फिसर यु जिङ–पिङ सार्वजनिक गरेकी थिइन् । समलिङ्गी तथा तेस्रोलिङ्गी अधिकारका लागि उनी अभियानकर्ताको रुपमा काम गर्दै आएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्