अन्तर्राष्ट्रिय फुटबलबाट गोमेजको सन्यास

म्युनिख / जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छ । ३३ वर्षीय गोमेजले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आइतबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

गोमेज रसिया विश्वकपपछि जर्मनीबाट सन्यास लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि जर्मनीका प्रभावशाली मिडफिल्डर मेसुट ओजिलले अपमानको कारण देखाउदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको थियो । जर्मनी रसिया विश्वकपको समूह चरणबाटै बाहिरिदा गोमेजजले तीन खेलमा मौका पाएपनि वैकल्पिक खेलाडीको रुपमा मात्रै मैदान प्रवेश गरेका थिए । जर्मन बुन्डेस लिगा क्लबभिएफबी स्टुटगार्टका गोमेजले विश्वकपमा एक गोल पनि गर्न सकेको थिएन ।

सन्यासपछि गोमेजले सामाजिक सन्जाल फेसबुकमा प्रशिक्षक जोचिम लोउसँगको सल्लाहमै सन्यासको घोषणा गरेको उल्लेख गरेको छ । ‘सन्यास अघि मैले प्रशिक्षक लोउसँग सल्लाह मागेको थियो । हामीबीच राम्रो छलफल भएको थियो ।’ गोमेजले भनेका छन्, ‘मेरो लागि रसिया विश्वकप एक सपना थियो । तर, हामीले समूह चरण पार गर्न सकेनौ । यसले पनि हामीलाई प्रभाव पार्यो । आजको दिनलाई सन्यास लिने उपयुक्त समय ठानेको छु ।’

जर्मनको राष्ट्रिय टिमबाट मैले खुशी पाएको छु । तर, २०१४ मा घाइते भएर गुमाउन पुगे । मैले टिमलाई धेरै सम्झिरहेको थिए । त्यसपछि २०१६ र अहिले रसिया विश्वकप गरी दुई ठुला प्रतियोगिता खेल्ने मौका पाए । मैले आफुलाई भाग्यमानी ठानिरहेको छु । तर, अन्तिम ठुलो प्रतियोगिता सम्झनयोग्य बनाउन सकिन । तर, सधै जित्न सकिदैन ।’ गोमेजले सामाजिक सन्जालमा लेखेका छन् , ‘‘म जर्मन फुटबल एसोसिएसन ९डिएफबी० सँग सधै सम्पर्कमा हुनेछु । म अब जर्मन टिमको फ्यान हुनेछु । प्रशिक्षक, खेलाडी र अफिसियल सबैलाई अबको खेलहरुमा लागि शुभकामना । म मेरो परिवारसँग रम्नेछु ।’

यस्तै गोमेजले जर्मन टिममा थुप्रै युवा प्रतिभाहरु आइसकेका कारण पनि सन्यासको समय आएको बताएका छन् । गोमेजले जर्मनीबाट ७८ खेलमा ३१ गोल गरेका छन् । गोमेजले २००७ मा स्वीट्जरल्यान्डविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । गोमेजले डेब्यु खेलमै सनसनी पूर्ण गोल गरेका थिए ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्