‘अब कि भ्रष्टाचारी सिद्धिन्छन्, कि म सिद्धिन्छु’ : पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ (भिडियो सहित )

काठमाडौं, २१ साउन / पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले अब आफू भ्रष्टाचारविरुद्धको अभियानमा समर्पित भएको बताएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व कानूनमन्त्री तामाङले आफू भ्रष्टाचार नियन्त्रणको पक्षमा रहेकाले आफूले शुरु गरेको अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् । उनले आफू कानूनमन्त्री रहेका बेला थालनी गरेका भ्रष्टाचार नियन्त्रणका अभियानलाई बाहिर रहेर भए पनि अगाडि बढाउने र भ्रष्टाचारीलाई नागरिकसामु अगाडि ल्याउने बताएका छन ।

देश विकासको प्रमुख वाधकको रुपमा संगठित भ्रष्टाचार रहेको जानकारी गराउँदै उनले भने, ‘अब कि भ्रष्टाचारी सिद्धिन्छन्, कि म नै सिद्धिन्छु ।’ आफू कानूनमन्त्रीको जिम्मेवारीमा रहेका बेला पनि सार्वजनिक व्यक्तित्वहरुबाट हुने गरेका संगठित भ्रष्टाचारकाविरुद्ध पटक–पटक आवाज उठाउँदै आएको र यस विषयमा अहिले पनि आफू सचेत रहेको बताएका छन् । उनले भ्रष्टाचार नै नेपालको मुख्य रोग भएको बताउँदै यसलाई नियन्त्रण गर्न सके देशले आर्थिक समिृद्धिको बाटो समात्ने बताए ।

उनले पत्रकार सम्मेलनमार्फत नै आफ्नो सम्पति विवरण समेत सार्वजनि गरेका छन् । पूर्व मन्त्री तामाङले आफू र आफ्नो श्रीमती उषाकला राईको नाममा रहेको सम्पूर्ण सम्पति विवरण सार्वजनिक गरेका छन् । उनले बुझाएको सम्पति विवरणमा तामाङको नाममा सिन्धुपाल्चोकको सिन्धुकोट–८ मा १–१४–१–२, सोही ठाउँमा ७–०–०–०, सिन्धुपाल्चोक मेलम्ची–७ मा ९–६–१–१ रोपनी अंशको जग्गा र काठमाडौं वडा नम्बर–९ मा ०–६–२–१ क्षेत्रफल बराबरको जग्गा रहेको सार्वजनिक गरेका छन् ।

यस्तै पूर्वमन्त्री तामाङले आफ्नी पत्नी उषाकला राईको नाममा रहेको मोरङ दुलारी–८ को ०–७–१–०, ०–०–१÷४, ०–३–०–०, ०–०–११÷४, ०–१–२१÷४, १–१–७१÷२ र सुन्दर हरैचामा ०–८–०, ०–१–०२ क्षेत्रफल जग्गा देखाएका छन् । यस्तै खोटाङ खाल्डेमा पत्नी उषाकलाकै नाममा १०५ रोपनी पुस्तौनी जग्गा रहेको उल्लेख गरेका छन् । तामाङले जग्गा बाहेकका अन्य सम्पति देखाएका छैनन् ।

पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री तामाङले सार्वजनिक जीवन बाँचेकाहरुले आफूले आर्जन गरेको सम्पति नागरिकलाई जानकारी गराउनु कर्तव्य भएको समेत बताए । उनले पदमा रहँदा वा नरहँदा पनि जनताको र देशका लागि काम गर्नेहरुले आफ्नो सम्पति विवरण जानकारी गराउनु पर्ने र यसै कुराका लागि अन्य मन्त्री तथा सार्वजनिक पद धारण गरेकाहरुलाई दवाव सिर्जना गर्न सम्पति विवरण सार्वजनिक गरेको पनि सुनाए ।
यस्तो छ  पूर्वमन्त्री शेरबहादुर तामाङको सम्पति विवरण

   – भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

 


प्रतिक्रिया दिनुहोस्