ब्राजिलका बर्नाड साख्तरबाट एभर्टनमा

गुडिसन पार्क / इंग्लिस क्लब एभर्टनले ब्राजिलका मिडफिल्डर बर्नाडलाई अनुबन्ध गरेको छ । एभर्टनले बर्नाडलाई युक्रेनी क्लब साख्तर डोनेस्कबाट स्वतन्त्र मुल्यमा अनुबन्ध गरेको हो ।

२५ वर्षीय बर्नाडलाई इंग्लिस क्लब चेल्सी, वेस्टह्याम र एसी मिलानले पनि अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, उनी एभर्टनमा आउन सहमत भएको हो । मर्सिसाइड क्लब एभर्टनमा आउनुअघि बर्नाडको मंगलबार गुडिसन पार्कमा मेडिकल हुनेछ ।बर्नाड ब्राजिली क्लब एट्लेटिको मिनिरोबाट २०१३ मा ४० मिलियन पाउन्डमा युक्रेनी क्लब साख्तर डोनेस्कमा ५ वर्षको लागि अनुबन्ध भएको थियो । उनको सम्झौता सकिसकेका कारण एभर्टनले फ्रि ट्रान्सफरमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।

२५ वर्षीय बर्नाडले साख्तर डोनेस्कबाट १५७ खेल खेलमा २८ गोल गर्न सफल भएका छन् । बर्नाडले एट्लेटिको मिनिरोबाट २०१२ र १३ मा क्याम्पपियोनाटो मिनिरो कप र २०१३ मा कोपा लिवर्टोेडोरेस जितेका थिए । साख्तर डोनेस्कबाट युक्रेनी प्रिमियर लिग, युक्रेनी सुपर कप र युक्रेनी कप जित्न जितिसकेका छन् । लेफ्ट विङ्गर तथा सेन्टर मिडफिल्डबाट खेल्न सक्ने बर्नाडलाई ब्राजिलका पूर्व प्रशिक्षक लुइस फिलेपे स्कोलारीले ड्रिब्लिङ क्षमताका कारण खुट्टै खुट्टामा रम्न सक्ने खेलाडीको उपनाम दिएका थिए ।

बर्नाडले २०१२ मा ब्राजिली टिममा डेब्यु गरेका थिए । ब्राजिलले २०१३ को फिफा कन्फेडेरेसन कप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । २०१४ को विश्वकपमा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित हुदा उनले शुरुवाती ११ मा मौका पाएका थिए । बर्नाडले २०१६ को रियो ओलम्पिक चोटका कारण गुमाएका थिए । त्यसयता भने उनी ब्राजिलको टिममा पर्न सकेका छैनन् । उनले ब्राजिलबाट १४ खेल खेल्दै १ गोल गरेका छन् ।

– एजेन्सी


प्रतिक्रिया दिनुहोस्