विश्व कपका पाका खेलाडीको सन्यास

कायरो / फिफा विश्वकप फुटबल खेल्ने पाका खेलाडीको कीर्तिमान बनाएका इजिप्टका गोलकिपर इसाम इएल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

इजिप्टका ४५ वर्षे इसामले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । इजिप्टबाट रसिया विश्वकप खेल्दै इसामले विश्वकप खेल्ने पाका खेलाडीको कीर्तिमान बनाएका थिए । उनले रसिया विश्वकपको समूह चरणको अन्तिम खेलमा साउदी अरेवियाविरुद्ध खेल्दै विश्वकप खेल्ने पाका खेलाडी बनेका थिए । उक्त खेलमा इजिप्ट २–१ ले विजयी हुदा इसामले एक पेनाल्टी बचाएका थिए ।

सन् १९९६ मा राष्ट्रिय टिममा डेब्यु गरेका इसामले राष्ट्रिय टिमबाट १ सय ५९ खेल खेलेका छन् । ४५ वर्षीय इसामले चारपटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेका थिए । सन्यास लिने उपयुक्त समय आएकाले सन्यास लिएको उनले बताएका छन् । ‘मैले २२ वर्ष चार महिना १२ दिन इजिप्टको राष्ट्रिय टिममा बिताए । यो समयमा मैले टिमसँग उत्कृष्ट समय बिताएको छु । अब नयाँ खेलाडीहरुलाई पनि मौका दिनुपर्दछ । त्यसैले मैले आफ्नो ग्लोभ्स थन्क्याउने निर्णय गरेको हुँ ’ इसामले सन्यासपछि भनेका छन् ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्