दिइसकेको राजीनामा कुनै हालतमा फिर्ता लिन्न : नारायणकाजी श्रेष्ठ

काठमाडौं, २३ साउन /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले स्वेच्छाले प्रवक्ताबाट राजीनामा दिएकाले कुनै हालतमा फिर्ता नलिने बताएका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठलाई राजीनामा फिर्ता लिन गरेको आग्रह उनले अस्वीकार गरेका छन् । आज बुधबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा नेकपा अध्यक्षद्वयले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । तर श्रेष्ठले आफूले स्वेच्छाले आनन्दपूर्वक राजीनामा दिएको जवाफ दिएका छन् ।

उनले भने, ‘एक पटक दिइसकेको राजीनामा फिर्ता लिन्न, सचिवालयले जे निर्णय गर्छ त्यसलाई म सम्मान गर्नेछु ।’ तर यसबारे आज कुनै पनि ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।
यसको निर्णयका लागि बिहीबार पनि बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । केही दिनअघि डा। गोविन्द केसीको अनसनलाई समर्थन गरेको भन्दै अध्यक्षहरुले स्पष्टिकरण माग गरेपछि उनले प्रवक्ता पदबाट राजीनामा दिएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्