हनुमन्ते सफाइबाट १६ टन फोहर संकलन

भक्तपुर / भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २४औँ हप्तामा १६ टन फोहर संकलन गरिएको छ । मध्यपुरथिमि नगरपालिकाको कौशल्टारदेखि लोकन्थलीसम्मको क्षेत्रमा भएको सरसफाइको आज कलाकार दीपाश्री निरौलाले शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहर फाल्नेलाई कडा कारबाही गर्न नगरपालिकाले ठोस कार्यक्रम बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानमा जिल्लाका विभिन्न संघसंस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताउनुभयो ।

विसं ०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आजसम्म करीब २६० टन फोहर संकलन भएको र आजको अभियानमा ५७० जनाको सहभागिता रहेको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्