‘सुश्री सम्पति’ को रिलिज मिति मंसिर २८ मा पुग्यो

काठमाडौं / चलचित्र ‘सुश्री सम्पति’ अब मंसिर २८ मा रिलिज हुने भएको छ। आगामी भाद्र २२ मा रिलिज मिति तोकिएको यो चलचित्रले पोस्ट प्रोडक्सनको काममा केही ढिलाइ हुने भएपछि प्राविधिक कारण जनाउँदै रिलिज मितिलाई मंसिरमा सारेको हो।

निर्देशक सञ्चारकर्मी सुब्रत आचार्यले भाद्र २२ लाई वितरकसँगको सल्लाह अनुसार रिलिज मिति तय गरे पनि केहि प्राविधिक काम बाँकी रहेकाले रिलिज सारिएको बताएका छन् । ‘वितरकसँगकै आपसी छलफलका कारण हामीले नयाँ रिलिज डेट मंसिर २८ लाई तय गरेका हौं। हामीले यो समयमा फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम राम्रोसँग सक्नेछौं,’उनले भने, ‘पब्लिसिटीमा पनि राम्रोसँग ध्यान दिनका लागि समय सारेका हौं।

चलचित्रको पहिलो गीत ‘हुकुम बक्सियोस्’ सार्वजनिक गर्न केही समय अघि राजधानीमा आयोजित कार्यक्रममा निर्माण टिमले रिलिज डेट केहि दिनमा घोषणा गर्ने बताएको थियो। चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, विशारद बस्नेत,  सुनिता श्रेष्ठ ठकुरी, राजाराम पौडेल आदि कालाकारले अभिनय गरेका छन् । फिल्ममा नायिका प्रियंका कार्की अतिथिको भूमिकामा छिन्।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको फिल्ममा विज्ञान राई, नुनम सुब्बा र रमन शिलाकार निर्माता छन्। फिल्ममा सुब्रतको कथा, अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद, निरवीकै पटकथा र भरत रेग्मीले सम्पादन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्