घुससहित यातायातका मेकानिकल इञ्जिनियर शाह पक्राउ

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवलमा कार्यरत मेकानिकल इञ्जिनियर सरोजकुमार शाहलाई रु २० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

नयाँ सवारी साधन दर्ताका क्रममा साहले सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने अभियोगमा आयोगको टोलीले पक्राउ गरेको हो । आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले आजै धोविनी गाउँपालिका पर्सामा कार्यरत नायब सुब्बा एनामुल अन्सारी र लेखापाल कृष्णनन्दन राय यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनस्हरु विरुद्ध सडक ढलान र नाला निर्माण सम्पन्न भएपश्चात् रकम भुक्तानी दिँदा रु एक लाख १० हजार घुस मागेको अभियोग लागेको छ । आयोगको टोलीले नायब सुब्बा अन्सारी र लेखापाल यादवलाई घुस लिँदालिँदै कार्यालय परिसरबाटै केही दिन पहिले पक्राउ गरेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्