बाँधको पानी खोलिदा महाकाली नदीको बहाव घटबढ

काठमाडौं / भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ ।

सोमबारदेखि बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै परियोजनाले बाँध खुला गरेको जानकारी दिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । “परियोजनाको दुईवटा ढोका खोलेर २९४ क्युसेक पानी छाडिएको खबर छ,” उहाँले भन्नुभयो “एउटा ढोकाबाट १४२ क्युसेक र अर्को ढोकाबाट ५२ क्युसेक पानी छोडिएको जानकारीमा आएको छ ।” उहाँले भन्नुभयो । यसअघि आइतबार नै भारतीय पक्षले आज बिहान ९ बजेसम्मका लागि बाँध खोलिने पूर्व जानकारी नेपाली प्रशासनलाई गराएको थियो ।

बाँधको पानी खोलिदा महाकाली नदीको बहाव घटबढ भइरहेको बताईएको छ । दार्चुलाको दत्तुमा बिहान १० बजे मापन गरिएअनुसार महाकाली नदीको सतह ४।६ मिटर क्युसेक रहेकामा दिउँँसो १ बजे सतह घटेर ३।६ मिटर क्युसेक पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । बाँधको पानी खोलिदा महाकाली नदीको तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न दार्चुला जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ ।

दार्चुलाबाट बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले आग्रह गरेका छन् । पछिल्लो समय भारतीय प्रशासनले बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

कूल २८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गाको बाँध यस वर्षमात्रै चारपटक खोलिएको छ । यसअघि धौलीगङ्गा जलविद्युत् परियोजनाको छिरकिल्लास्थित बाँधमा पानीको मात्रा अत्यधिक भएकाले साउन १२ गते पनि बाँधको ढोका खोलिएको थियो । विसं २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सदरमुकाममा क्षति पुग्दा अर्बौंको क्षति पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्