म्यानपावर व्यवसायीलाई मन्त्री विष्टको कडा जवाफ,४० जनाको अनुहार हेरौं कि ४० लाख युवाको,

काठमाडौं / श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीहरुको धरौटी रकम कुनै हालतमा नघटाउने अडान लिएका छन् । सोमबार मन्त्रालय पुगेका व्यवसायीहरुको टोलीलाई आफू कुनैपनि हालतमा धरौटी रकम घटाउन नसक्ने जानकारी गराएको मन्त्रालयलका एक उच्च अधिकारीले बताएका छन।

मन्त्री विष्टले व्यवसायीलाई तपाईँहरु कालीमाटीको साग पसलेजस्तो हुनुभयो, तपाईँहरुकै कारण कैयौं युवा अलपत्र पर्ने अवस्थासम्म आएको’ भन्दै हप्काएको मन्त्रालयका ती अधिकारीले बताए । म्यानपावर व्यवसाय सञ्चालन गर्न सरकारले धरौटी रकम बढाउने प्रस्ताव गरेपछि व्यवसायीहरुले त्यसको विरोध गर्दै प्रस्तावमा पुनर्विचार गर्न दवाव दिँदै आएका छन् । मन्त्रालयका ती अधिकारीका अनुसार धरौटी रकम घटाउन माग गर्दै मन्त्रीलाई भेट्न सोमबार वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा ४० जना मेनपावर व्यवसायी मन्त्रालय पुगेका थिए ।

मन्त्रीसँग भेट्न गएका एक व्यवसायीले ‘मन्त्री ज्यू हाम्रो अनुहार हेर्दिनुस् कति मलिन अनुहार लिएर आएका छौं भनेपछि त्यसको जवाफमा मन्त्री विष्टले ‘तपाईँहरु ४० जनाको अनुहार हेर्नुकी ४० लाख युवाको मलिन अनुहार हेर्नु भन्दै कडा प्रतिकृया जनाएका थिए ।

मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्रीले भने, ‘तपाईँहरुमध्ये ४/ ५ जनाले साधारण नागरिक बनेर बाटोमा म्यानपावर व्यवसाय र व्यवसायीको बारेमा एक हप्ताजति प्रतिक्रिया लिनुस्, आफैं बुझ्नुहुन्छ तपाईँहरुले कस्तो काम गरिरहनु भएको छ भनेर’ ।

सरकारले कम्पनी इजाजतको धरौटी ६ करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ । धरौटी रकम कम हुँदा ठुलो ठगी गर्ने म्यानपावरबाट कामदारलाई क्षतिपूर्ति दिलाउन नसक्ने भन्दै धरौटी रकम बढाउन लागिएको सरकारको दाबी छ ।
म्यानपावर व्यवसाय सञ्चालन गर्दा २ करोड नगद र ४ करोड बैंक ग्यारेण्टी हुनुपर्ने व्यवस्था सरकारले गर्न लागेको छ । वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै म्यानपावर व्यवसायीको धरौटी रकम बढाउन लगिएको हो । सम्भवतः अब बस्ने मन्त्रिपरिषदको बैठकले संशोधित ऐनको टुगो लगाउने मन्त्रालय श्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्