‘युनाइटेडले फ्रान्सका मुख्य मिडफिल्डर पोग्बालाई बार्सिलोना जान नदिने’

मङ्लबार, साउन २९, म्यानचेस्टर / विश्वकप विजेता फ्रान्सका मुख्य मिडफिल्डर पल पोग्बा ट्रान्सफर विन्डोमा बार्सिलोना जाने चर्चा सेलाउन नपाउँदै म्यानचेस्टर युनाइटेडले उनलाई अन्यत्र जान नदिने क्लबका पूर्वखेलाडी वेस ब्राउनले बताएका छन् ।


बार्सिलोनाले ट्रान्सफर विन्डोको सुरुआतदेखि नै पोग्बालाई क्लबमा ल्याउने प्रयास गरेपनि युनाइटेडले विश्वकप विश्राममा रहेका खेलाडीलाई क्लबमै राख्ने बताएको थियो । पोग्बाले प्रिमियर लिगको पहिलो खेलमा युनाइटेडको कप्तानी सम्हाल्दै टोलीलाई जित दिलाउने क्रममा लिगको पहिलो गोल पनि गरे । प्रशिक्षक जोसे मोउरिन्होसँग खटपट भएको चर्चा चलेपनि क्लबले भने पोग्बालाई जान नदिने स्पष्ट पार्दै आएको छ ।

क्लबका पूर्वडिफेन्डर वेस ब्राउनले पनि पोग्बा म्यानचेस्टरमै रहने बताएका छन् । ‘ पोग्बा क्लबमै बस्नेछन् । उनले पहिलो खेलमा पनि राम्रो प्रदर्शन गरे । अब आउने खेलमा पनि सोहि प्रदर्शन जारी राख्ने विश्वास मैले लिएको छु । ‘

‘ उनलाई यो सिजन आक्रमणमा अझै धेरै स्वतान्त्रता दिनुपर्छ भन्ने मेरो तर्क छ । युनाइटेडले फ्रेडलाई क्लबमा ल्याउनु र नेमान्जा माटिच पनि टोलीमा फर्कनुले उनलाई थप सहयोग पुग्नेछ । फ्रेडले तुलनात्मक रुपमा रक्षात्मक रणनीति सम्हाल्ने हुनाले पोग्बलाई अगाडी बढ्न सघाउ हुनेछ ।’

पोग्बा युभेन्ट्सबाट कीर्तिमानी रकममा म्यानचेस्टर युनाइटेड आएका हुन् । आफ्नो युवा करिअर म्यानचेस्टर क्लबमै बिताएका उनलाई युनाइटेडको सर्वाधिक कमाउने खेलाडी बनाउने हल्ला पनि चलेको छ । मोउरिन्होले पोग्बालाई कप्तानको जिम्मेवारी दिएर उनको भूमिका अहम रहेको संकेत देखाईसकेका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्