पाथीभरा गोल्डकपको खेलतालिका सार्वजनिक

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, २९ साउन  / ताप्लेजुङमा आउँदो भदौ ८ गतेदेखि सुरु हुने तेस्रो संस्करणअन्तर्गत पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले भदौ ८ देखि १६ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको खेल तालिका (टाइसिट) सार्वजनिक गरेको हो ।

मङ्गलबार सार्वजनिक गरिएको खेल तालिका अनुसार झापाबाट प्रतियोगितामा सहभागी हुने दुवै टोली (टिम) भाग्यमानी भएका छन् । झापाको रेड स्टार क्बल र न्युस्टार क्लबले बाई पाएर सिधै क्वाटर फाइनल पुग्ने अवसर पाएका छन् । बाँकी भदौ ८ गते हुने पहिलो खेलमा घरेलु टोली कञ्चनजङ्घा फुङ्लिङ क्लबले रेडहर्स क्लब इलामको सामना गर्ने छ ।
दोस्रो दिन भदौ ९ गते अर्को घरेलु टोली कर्णसिंह सोनाम फुटबल क्लब र पाँचथरको फिदिम स्र्पोटिङ क्लबबीच खेल हुने छ । भदौ १० गते हुने खेलमा सेमीफाइनलका लागि झापाको रेडस्टार क्लब झापा र पहिलो दिनको बिजेताबीच हुने छ भने ११ गते झापाकै न्युस्टार क्लब र दोस्रो दिनको बिजेता टिमबीच खेल हुने छ ।

यस्तै भदौ १२ गते राष्ट्रिय जागृति क्लब सुनसरी र भारतको युनाइटेड खर्साङ् फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ भने १३ गते चर्च ब्वाइज क्लब काठमाडौं र मोरङको अमरोज क्लबबीच हुने । भदौ १४ गते पहिलो र १५ गते दोस्रो सेमीफाइनल खेल सम्पन्न भएपश्चात १६ गते फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ । यसवर्ष उपाधि बिजेताले दुई लाख ५१ हजार १११ रुपियाँ र उपबिजेताले एक लाख २५ हजार १११ रुपियाँ नगद पुरस्कार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्