किन बिप्लबको बम–प्रविधि अध्ययन गर्दैछ प्रहरी ?

काठमाडौँ साउन ३० / प्रहरीले मंगलबार बन्द आह्वानकर्ताले विभिन्न ठाँउमा राखेका बमको अंश थप अनुसन्धानका लागि विधिविज्ञान प्रयोगशालामा पठाएको छ।
प्रहरीले आईतबार राती साढे १२ बजे ललितपुरको ग्वार्को गुण हल नजिक फेला पारेको कुकर बममा रहेको अंश विधिविज्ञान प्रयोगशाला पठाएको हो। प्रहरीले बम बनाउन प्रयोग भएको वस्तुको जाँच गर्न लागेको हो। त्यसमा सल्फर र फस्फोरस रहेको देखिएपछि थप परीक्षणका लागि फरेन्सिक जाँचका लागि पठाइएको हो।

                                                            फाइल फोटो

ग्वार्कोमा बरामद कुकर बम सेनाको टोलीले डिस्पोज गरेको थियो। सशस्त्र समूहले विस्फोटका लागि नयाँ प्रविधि प्रयोग गरेको देखिएमा भविष्यमा डिस्पोजका लागि सहज होस् भनेर त्यसको थप अध्ययन गर्ने गर्छ। बन्दका क्रममा प्रहरीले काठमाडौँबाट ४ र ललितपुरबाट ३ जना बन्दकर्तालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य उषाकिरण आजाद र जिल्ला सचिव तारा सन्ज्याल रावल सहित छन्। आजाद र रावल दुबैलाई प्रहरीले बम सहित जमलबाट पक्राउ गरेको थियो। बिप्लव नेतृत्वको नेकपाले आफ्ना नेता खड्गबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा मंगलबार बन्द आह्वान गरेको थियो। बन्दकर्ताले सोमबार मध्यरातदेखि नै काठमाडौँ उपत्यकाका बिभिन्न ठाउँमा बम राखेका थिए। यस्तै, फोहर जम्मा पारिएको स्थान र कुनाकाप्चामा शंकास्पद वस्तु राखिएको थियो।

उपत्यका बाहिर आगजनी

बन्दकारीले मकवानपुरको त्रिभुवन राजपथअन्तर्गत जिल्लाको थाहा नगरपालिका–११, देउरालीमा बिहान महेन्द्र कम्पनीको नाअपस ४५ नं को अनटेष्ट बस आगजनी गरेका थिए। वीरगन्जबाट काठमाडौँ आउँदै गरेको सो बस आगजनीका कारण पूर्ण रूपले क्षति भएको छ। तर मानवीय क्षति भने भएको छैन। बन्दको क्रममा पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए। जिल्लाका चार स्थानमा प्रेसर कुकरमा नक्कली बम राखेको चन्दले जानकारी दिए।

मंगलबार बिहान ग्वार्को, ताल्छिखेल र बटुकभैरबमा नक्कली बम राखेको पाइएको थियो। दिउसो कुपण्डोलमा नक्कली बमका कारण केहीबेर स्थानीयवासी त्रसित बनेका थिए।


प्रतिक्रिया दिनुहोस्