मेस्सीविरुद्ध टेभेज खेल्न उत्साहित

बार्सिलोना / म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर कार्लोस टेभेज र उनका पूर्व सहकर्मी बार्सिलोनाका लियोन मेस्सी आमनेसामने हुने भएका छन् । टेभेजको टोली बोका जुनियर्सले बुधबार जोआन ग्याम्पर ट्रफीमा बार्सिलोनाको सामना गर्दैछ ।


टेभेज सन् २००६ र २०१० विश्व कपमा अर्जेन्टिना फुटबल टोलीका सदस्य थिए । ३४ वर्षे टेभेज मेस्सीसँगको भेटका लागि आतुर छन् । ‘मेस्सीविरुद्ध खेल्न सधै आनन्द लाग्छ । उनीसँग खेल्दा पनि खुसी लाथ्यो,’ उनले भने, ‘अहिले फेरि एकपटक उनीसँग खेल्ने मौका मिलेको छ । साच्चै खुसी लागेको छ ।’

टेभेजले आफ्नो खेल जीवनको महत्वपूर्ण समय वेस्ट ह्याम युनाइटेड तथा म्यानचेस्टर क्लबहरु युनाइटेड र सिटीमा विताएका थिए । उनले खेल जीवनमा तीन पटक प्रिमियर लिग, एकपटक एफए कप र एकपटक च्याम्पियन्स लिग उपाधि जितेका थिए । उनले इटालियन क्लब युभेन्ट्सबाट पनि खेले । जहाँ उनी दुई पटक सिरिए र एक पटक कोपा इटालिया जिते ।

२०११ अघि सात वर्ष अर्जेन्टिनाका लागि ७६ खेल खेल्दै टेभेजले १३ गोल गरेका थिए । २०१५ यता अर्जेन्टिनाको फुटबल टोलीमा पर्न नसकेका टेभेजको अन्तर्राष्ट्रिय खेल जीवन भने लगभग विश्रामको अवस्थामा छ । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्