घरेलु हतियार प्रहार गरी भाइ र छोराको हत्या

काठमाडौं, ३० साउन, /  रुकुमको मुसिकोट नगरपालिका १४ लहरेखेतका एक व्यक्तिले घरेलु हतियार प्रयोग गरी आफ्नै भाइ र छोराको हत्या गरेका छन् । बुधबार बिहान करिब साढे ६ बजेतिर करिब ३७ वर्षीय शंकर विष्टले एक्कासी घरेलु हतियारले अन्दाधुन्द आक्रमण गर्दा अरु दुई जना छोराहरु पनि घाइते भएका छन् । उनको आक्रमणबाट २० वर्षीय भाइ गोकर्ण र करिब ६ वर्षीय छोरा सुदर्शनको मृत्यु भएको प्रहरी हबल्दार गणेशबहादुर साउदले जानकारी दिएका छन ।

छोराहरु १३ वर्षीय प्रकाश र १० वर्षीय दिनेश घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । घाइते छोराहरुका अनुसार आमा पानी लिन गएको बेला प्रकाशले आक्रमण गरेका थिए ।

भाइ र छोराहरुलाई आक्रमण गरेपछि शंकरले आफूले आफैलाई टाउकोमा हतियार प्रहार गरेका थिए । उनी पनि सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । स्थानीयले प्रकाशको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् । यस घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी हबल्दार साउदले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्