विराटनगर महानगरले घटायो करको दर, नागरिकता र मृत्यु दर्ता निःशुल्क

काठमाडौ‌ साउन ३१, / चौतर्फी विरोधपछि विराटनगर महानगरले महानगरवासीसँग असुल गर्ने करको दर घटाएको छ। महानगरले आर्थिक ऐन २०७५ ल्याएर गरेको कर वृद्धि बोर्ड बैठकले संशोधन गरेको हो। संशोधनको निर्णय अगामी नगरसभाले अनुमोदन गर्नेछ । महानगरले नागरिकता सिफारिसमा ५० रुपैयाँ सेवा शुल्कलाई संशोधन गरी निःशुल्क गरेको छ ।

जन्म, विवाह, मृत्यु दर्ता ३५ दिनभित्र गर्नेलाई निःशुल्क र त्यसपछि गर्नेलाई ५० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ । मृत्यु दर्ता र छोरीको जन्म दर्तामा ३५ दिनपछि पनि शुल्क नलाग्ने व्यवस्था गरिएको महानगर उपप्रमुख इन्दिरा कार्कीले बताइन्। यसअघि उक्त शीर्षकमा ५ सय शुल्क तोकेको थियो।

‘सम्बन्ध विच्छेदको सिफारिस शुल्कलाई ३ हजारबाट घटाएर ५ सय कायम गरेका छौं,’ उनले भनिन्, ‘यसअघि स्थायी बसोबास, नाम, थर, जन्ममिति, संशोधन सिफारिसमा ५ सयलाई घटाएर तीन सय तोकेका छौं ।’ वैवाहिक अंगीकृत नागरिकता सिफारिस शुल्कलाई ५ हजारबाट घटाएर ३ सय कायम गरिएको उपप्रमुख कार्कीले सुनाइन्।

संघ संस्था दर्ता सिफारिस शुल्कमा पनि संशोधन गरिएको छ । नगर, वडास्तरीय गैरसरकारी संस्था दर्तामा यसअघि लिँदै आएको दुई हजारलाई एक हजार र र जिल्लास्तरीयलाई तीन हजारबाट दुई हजार तोकिएको छ । उपप्रमुख कार्कीले दिर्घरोगी सिफारिस, विद्यार्थीहरुलाई छात्रवृतिका लागि सिफारिस निःशुल्क गरिएको बताइन्। आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।


प्रतिक्रिया दिनुहोस्